सदरलाइनडटकम
२ ज्येष्ठ, नेपालगन्ज : नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ ।
एकीकरणअघि दुवै पार्टीका केन्द्रीय कमिटी बैठक बसेर मान्युट गरेपछि मात्र निर्वाचन आयोगमा जानकारी दिनुपर्छ ।
माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्दैछ भने एमालेले केन्द्रीय कमिटीको बैठक बिहीबार ११ बजे बोलाएको छ । एमाले केन्द्रीय कमिटी बैठकअघि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ । सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । यद्यपि एमाले उपमहासचिव बिष्णु पौडेलले भने संयोजन समितिको बैठकपछिमात्र टुंगो लाग्ने बताए । उनले दुवै अध्यक्षको भनाइ उधृत गर्दै भने(एकता ‘अन प्र्रोग्रेस’मा छ ।
पौडेलले भने, ‘मैले दुबै अध्यक्षलाई सोधेँ । उहाँहरुले एकीकरणको बारेमा वर्क अन प्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’ एमालेको स्थायी कमिटी बैठक आजै साँझ बस्दैछ । माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठक पनि बस्दैछ । दुई अध्यक्षबीच के सहमति भयो भन्ने अझै बाहिर आएको छैन ।