सदरलाइनडटकम
२० मंसिर, नेपालगन्ज : मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश ठाँउमा मतदाताहरु परिचय पत्र लिन नगएको पाइएको छ ।
तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगन्जले बुधबार डुडुवा गाँउपालिका अन्तरगतका वडाहरु र नेपालगन्ज उप–महानगरपालिका वडा नं. ६ मा मतदाताहरु परिचाय पत्र लिनेको संख्य अत्यधिक न्युन नरहेको पाइएको जनाएको छ ।
नेपालगंज वडा ६ हडियाबाबा मतदान केन्द्रमा २०८३ मतदाता रहे पनि साँझसम्म २ सय जनाले मात्र परिचय पत्र लिएको मतदान अधिकृत मधुसुधन रेग्मीले जानकारी दिए । मतदाता शिक्षाको कमीका कारण मतदाताहरु परिचयपत्र लिन नआएको आशंका गरिएको छ ।
यस्तै डुडुवा गाँउपालिका वडा नं. २ को नेराप्रावि सन्तलियमा रहेको मतदान केन्द्रमा १ हजार २ सय २८ मतदाता मध्ये १ सय ३१ जनाले मात्र मतदाता परिचाय पत्र लिएको मतदान अधिकृत कृष्णबहादुर केसीले जानकारी दिए ।
उनले स्थानीय निर्वाचनमा परिचय पत्र लिइ सकेकाहरु पुनः लिन नआएको बताउदै नयाँ मतदाताहरुमा निर्वाचन सम्बन्धी शिक्षाको कमीका कारण परिचय पत्र लिन नआएकोे हुनसक्ने आशंका व्यक्त गरे ।
यसैबीच थर्ड एलाईन्स नेपालगन्जले सीमा नाकासंग जोडिएका वडाहरुलाई बिशेष ध्यानमा राखी शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न र मतदाताको अधिकारको संरक्षण गर्न सम्बन्धित सबै संग अपिल गरेको छ ।
निर्वाचनमा खटेका कर्मचारीहरुलाई निष्पक्ष भएर निर्वाचनमा खटन र मानव अधिकारको पूर्ण सम्मान गर्न थर्ड एलायन्सले अपिल गरेको हो । साथै निर्वाचनको समाचार संकलन गर्न खटिएका पत्रकारहरु, मानव अधिकारकर्मी,पर्यवेक्षकहरुलाई सहज रुपमा समाचार संकलन र अनुगमन गर्ने वातावरण बनाउन सम्बन्धीत पक्ष संग अपिल गरेको छ ।