‘ठूलादलका उम्मेदवारसंग कार्यान्वय नहुने एजेण्डाको थुप्रो मात्र छन्’

६ मंसिर २०७४, बुधबार १८:१६
 

सदरलाइनडटकम 


६ मंसिर, नेपालगन्ज : निर्वाचनको तिथि नजिकिदै छ । नेपालगन्जको चिया चोकहरुमा तीन ठूला पार्टीका उम्मेदवार मध्ये यसले जित्छ त्यसले जित्छ भन्दै लख काटेर बसेको पाईन्छ । लोकतन्त्रमा जनता जर्नादन हुन भन्ने कुरालाई हेक्का नराख्दै त्यो समूहको नजरमा साना पार्टीको रुपमा रहेका एकीकृत राप्रापा राष्ट्रबादीका उम्मेदवार भने आफ्नै गतिमा र अन्य पार्टी भन्दा भिन्दै एजेन्डा बोकेर प्रचार अभियानमा छन् ।
उनली भनन्छन–‘ठूला दलका उम्मेदवारसंग राम्रा र चिप्ला तर कहिल्यै कार्यान्वयन नहुने एजेण्डामात्र छन् । हामीसंग व्यवहारिक र कार्यान्वयन हुने एजेण्डा बोकेर जनताका बीचमा गएका छौ जुन जनताले सार्थक बनाई दिने छन् ।’
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का प्रवक्ता एवं बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तेजनारायण कँडेलले विभिन्न दलका उम्मेद्वारहरु जीतलाई आफ्नो पक्षमा पार्न लागि परेको भएपनि अन्य ठूला दलका उम्मेदवारलाई हराएरै छाड्ने दावी गर्दै चुनावी मैदानमा रहेको बताउछन् ।
उनले आफ्नो चुनावी अभियानको बारेमा सदरलाईनडटकम संग कुरा गर्दै भने–‘कार्यकर्ता भेटघाटसँगै पार्टीका घोषणा पत्र मार्फत हाम्रा विकासका एजेण्डाहरु जनताका बीचमा प्रस्तुत गरिरहेका छौँ ।’ उनले पार्टीले मुलुकको विकासको लागि पाँचवटा एजेण्डा तयार पारेर जनता सामु आफुहरु पुगीरहेको बताए ।
उनले भने–‘ बौद्ध, मुस्लिम, किराँत लगायतका सबै धर्मको सम्मान गर्दै नेपालको पहिचान हिन्दू राष्ट्र हुनु पर्ने हाम्रो पहिलो एजेण्डा हो, दोस्रो एजेण्डामा राष्ट्र प्रमूख राजसंस्था र प्रत्यक्ष प्रधानमन्त्रीको निर्वाचन गराउनु, तेस्रोमा भ्रष्टाचारको अन्त्य र भ्रष्टाचार मुक्त समाजको निर्माण, चौथोमा नीजि उद्योग, जलस्रोत, पर्यटनको विस्तार गरी सबै नेपालीलाई रोजगारको व्यवस्था गर्ने र बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य र पाँचौमा हिमाल, पहाड, तराई र मधेसका सबै नेपालीको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्दै सम्वृद्ध नेपाल निर्माण गर्ने भन्ने हाम्रा प्रमूख एजेण्डा हुन् ।’
उनले स्थानीय रुपमा बाँकेको विकासको लागि काँग्रेस, एमाले, माओवादी जस्तो ठूला सपना नदेखे पनि सानो चिजबाट सुरुवात गर्दै नेपालगन्जको ट्राफिक व्यवस्थापन, शौचालयको समस्या, डुवानको समस्या, खुला सीमाका कारण मौलाएको तस्करी र अपराधिकरण लगायतका साना विषयहरुबाट काम सुरु गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
यसैगरी उनले हुलाकी सडक छिटो कालोपत्रे गर्ने, ग्रामीण विद्युतिकरणलाई तत्काल पूर्णता दिने आफ्ना योजना रहेको र यी अरु दलले जस्तो ठूला सपना देखाउने तर, कार्यान्वयन नगर्ने काम नगर्ने स्पष्ट पार्दै भने–‘अरुले सपना मात्रै देखाउँछन् । हामी कार्यान्वयन पनि गर्छौ ।’
उनले बाँकेको समग्र विकासका लागि राप्रपा राष्ट्रबादीलाई भोट दिन आव्हान गर्दै हिन्दूत्व, युवा रोजगार संगै बाँकेबासी मात्र नभएर समग्र नेपालीका तोडिएका मनहरुलाई जोड्नको लागि पनि जनताको अपेक्षा अनुसार चार कुनाभित्रको हलोमा मतदान गर्दै जनताले आफुलाई चुन्ने दाबी गरे ।
उनले नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू समुदाय रहेको र ओमकार परिवार गरेर हिन्दू धर्मावलम्बीहरुको संख्या ९४ प्रतिशत हुने तथ्याङ्क अघि सार्दै भने–‘ हाम्रो पार्टीको आधिकारिक धारणा भनेकै संविधान संशोधनमार्फत हिन्दू राष्ट्र घोषणा गर्नु हो । अर्को कुरा २०६२÷०६३ को जनआन्दोलनको एजेण्डा धर्म निरपेक्ष र राजतन्त्रका हटाउने मुद्दा लेखाजोखा नगरी आएको मुद्दा हो ।’
उनले राजतन्त्रले हिमाल, पहाड र तराईलाई जोडेको संस्था रुपमा लिएको बताउदै भने–‘अहिले जनताले राजतन्त्र चाहिन्छ भन्ने कुराको आवश्यकता र महसुस गरि रहेका छन् । राजसंस्था हुँदा मुलुकमा स्थायीत्व र विकासका धेरै काम भएका छन् । गणतन्त्र आएपछि नेपालमा खुलेआम बाह्य आक्रमण भएको छ । त्यसकारण पनि राजसंस्था जरुरी छ । र, यो नेपालमा पुनःस्थापित भएरै छाड्छौ ।

Next Post

आश्वासन हैन, काम गर्ने व्यक्तिको खोजिमा बघौडाबासी

६ मंसिर २०७४, बुधबार १८:१६
सदरलाइन / बीरेन्द्र जैसी    ६ मंसिर, नेपालगन्ज (बघौडाबाट फर्केर) : बाँकेको एक तिहाई भुभाग ओगटेको राप्ती पारीको बघौडा भनेर चिनिने क्षेत्र विकासका दृष्टिकोणले पिछडिएको क्षेत्र हो । प्रतिनिधी सभा क्षेत्र नं. १ अन्तर्गत पर्ने यस क्षेत्रमा ९८ हजार ३ सय २० मतदाता छन् । वर्षाैदेखि सदरमुकाम  नेपालगन्ज जोड्ने बाटो, […]