बस्ती जोगाउन राप्ती नदीमा तटबन्ध निर्माण गरिँदै

सदरलाइन संवाददाता १९ असार २०८०, मंगलवार १३:०७
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम शुरु भएको छ ।

राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ ।

राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठूला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम शुरु भएको जनताको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए । उनका अनुसार बोलपत्र आह्वान गरेर काम गर्ने समयावधि नभएका कारण उपभोक्ता समितिमार्फत काम गर्न लागिएको हो । कचनापुरको मधुवामा काम सुरु भइसकेको छ भने खल्लाझगडियामा उपभोक्ता समिति बन्ने क्रममा रहेको छ ।

“तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठूला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ”, उनले भने, “मनसुन शुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।”


तटबन्ध निर्माण हुन नसके राप्ती नदीमा ठूलो बाढी आए गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेको थियो । तटबन्ध निर्माणकार्य गर्न लागिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना)ले बताइन् ।

गत वर्ष राप्ती नदीमा आएको बाढीले मधुवाघाट र खल्लाझगडियामा तटबन्ध भत्काएको थियो । अहिले नदी नियन्त्रण हुन नसके बाढी गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेकाले मनसुन शुरु भएपनि तटबन्धको काम गर्नुपरेको बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले बताए ।

स्थानीय विपद् व्यवस्थापन समितिको मागअनुसार कचनापुरको मधुवाघाट र खल्लाझगडिया टोलमा तटबन्ध निर्माणार्थ ढुङ्गा उत्खननका लागि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले अनुमति दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योग गुरु भट्टराईको सम्मान

१९ असार २०८०, मंगलवार १३:०७
नेपालगञ्ज : गुरु पूर्णिमाको अवसरमा योग समिति नेपालका तर्फबाट योग गुरुप्रति सम्मान प्रकट गरिएको छ । योग समिति नेपाल केन्द्रीय कार्यसमितिका पदाधिकारी, योग प्रशिक्षक, नेपालगञ्ज उपमाहानगरपालिकाका बिभिन्न १० वटा योग केन्द्रबाट वडास्तरीय कार्यसमितिको संयोजकत्वमा उपस्थित योगसमितिका आजिवन सदस्य, योग अभ्यासीका तर्फबाट औपचारिक रुपमा कार्यक्रम गरि योग गुरु गिरिराज भट्टराईलाई खादा, […]