सदरलाइनडटकम
१८ चैत नेपालगन्ज : आर्थिक रुपले विपन्न भएका कारण ब्याट्री रिक्सा चलाएर परिवारको आयआर्जनमा सहयोग गर्दै आएका दुई जना बालकलाई शैक्षिक सामाग्री र लगाउने लुगा सहयोग प्रदान गरिएको छ । पारिवारिक विपन्नताको कारण उनहरु विद्यालय समयभन्दा पहिले र पछि व्याट्रि रिक्सा चलाउने कार्यमा सक्रिय थिए ।
कालिकोट घरभई नेपालगन्ज बस्दै आएका १४ वर्षिय बालक देबजङ्ग बम र नेपालगंजमा बस्ने १५ वर्षका बालक भिम थापालाई शुक्रवार शैक्षिक तथा गर्मीको कपडा सहयोग गरिएको हो । नेपालगन्जस्थित श्री आधारभूत विद्यालय सल्यानीबागमा क्रमश कक्षा ८ र ६ मा अध्ययनरत रहेका उनीहरु दुबैका घरको आर्थिक अवस्था कमजोर भएको कारण विद्यालय आउनु अघि र विद्यालय समय पछाडि परिवारको आयआर्जनका लागि ब्याट्री रिक्सा चलाउनु बाध्यता छ ।
देबजङ्ग बमले रिक्सा चलाउँदै गर्दा केही समय अगाडी नेपालगन्ज वडा प्रहरीका प्रमुख राजन गौतमले भेटेपछि नेपालगन्जको स्थानीय संचार माध्यममा प्रकाशित समाचारको आधारमा शुक्रवार सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले दुबै बालकहरुलाई कापी, कलम, ज्यमिती बक्स, झोला, विद्यालयको डे«स, घरमा बस्दा लगाउने लुगा पेन्ट, टि–सर्ट, हाफ पैन्ट गरी ६÷६ जोर बराबरको सामग्री प्रदान गरिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक राजन गौतम, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्मा र विद्यालयका प्रधानाध्यापक बुधेश जयसवालले संयुक्त रुपमा ती दुबै बालकलाई सो शैक्षिक सामाग्री र लुगा र सहयोग हस्तान्तरण गरेका थिए ।
सहयोग पाएपछि बालक देवजंग बमकी आमा प्रमिला बमले यो सहयोग सानै भए पनि यसबाट ठूलो राहात मिलेको बताउँदै अबदेखि सधैं आफ्नो छोरालाई विद्यालय पठाउने प्रतिबद्धता व्यक्त गरिन ।
उनले आर्थिक रुपमा बिपन्न भएकै कारण अरु कुनै विकल्प नभएपछि आफ्नो छोराले बाध्य भएर सानै उमेरमा ब्याट्री रिक्सा चलाउनु परेको बताईन । बाँके युनेस्को क्लबले समय समयमा जोखिममा परेका बिभिन्न अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ ।