लागत स्टेमेट ढिलाई हुँदा जिल्लाका विकास निर्माण प्रभावित हुने खतरा

२८ माघ २०७३, शुक्रबार १०:५४
 

रुद्र सुवेदी/सदरलाइन  
२८ माघ  नेपालगन्ज  :   जिल्लामा हुने विकासका योजनाको लागत स्टेमेटमा ढिलाई भएको कारण विकास योजनामा प्रभाव पर्ने देखिएको छ । जिविस बाँके अन्तरगतका विभिन्न विकास निर्माणका योजना बाँडफाँड भैसक्दा पनि योजना स्टेमेटमा जिल्ला प्राविधिक कार्यालयबाट ढिलाई भएको कारणले योजना निर्धारित समयमा सम्पन्न हुन कठिन हुने देखिएको हो ।
बाँके होलियामा रहेको नरेन्द्र प्रावि होलिया–६ को भवनको स्टेमेटको लागि दुई महिनादेखि निरन्तर जिल्ला प्राविधिक कार्यालय धाउदा पनि विद्यालयको लागत स्टेमेट हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय बहादुर यादवले गुनासो गरे ।
‘जिल्लामा विकास निर्माणको लागि योजना छनौट भएर कार्यान्वयनको लागि लाग्नु पर्ने बेलामा अझै पनि योजनाको लागत स्टेमेटको लागि नै पटक–पटक जिल्ला प्राविधिक कार्यालय धाउन पर्ने बताबरणले समयमा नै योजना सम्पन्न हुन सक्दैन’–उनले भने‘–यस्तो चालाले जिल्लाको विकासमा प्रभाव पर्ने देखिएको छ ।’
बाँकेमा निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम अन्तरगतका प्रत्यक निर्वाचन क्षेत्रमा ३ करोडको योजना जाने भएकोले क्षेत्र नं. १ मा २३ वटा योजना रहेको जसमा ४० लाखको १ वटा, २५ लाखको २ वटा १२ लाख र १० लाख ५० हजारको १–१ वटा र बाँकी १८ वटा योजना १०–१०लाखको रहेको छन् ।
यसैगरी क्षेत्र नं. २ मा १७ वटा योजना रहेको जसमा ९० लाखको सोलार वितरण योजना, ४० लाखको १ वटा २० लाख र १२ लाखको १ वटा र बाँकी १३ वटा योजना १०–१०लाखको रहेको छ । क्षेत्रनं. ३ मा २४ वटा योजना रहेको जसमा ४० लाखको १ वटा, २२ लाखको १ वटा १५ लाखको सोलारबत्ति र १५ लाखको १–१ वटा र बाँकी २० वटा योजना १०–१०लाखको रहेका छन् ।
बाँके निर्वाचन क्षेत्र नं.४ मा २४ वटा योजना रहेकोमा जसमा ४० लाखको १ वटा, २१ लाखको १ वटा १२ लाखको २ वटा, १३ लाखको १ वटा ११ लाख ५० हजारको १ वटा ११ लाखको ३ वटा र बाँकी १५ वटा योजना १०–१०लाखको रहेका छन् ।
माथि उल्लेख भएका योजना बाहेकका जिविसबाट हुने अन्य विकास निर्माणका कामहरुको समेत समयमा स्टेमेट हुन नसक्दा प्रभावित भएको गुनासो आएका छन् ।
विकासको लागि छुट्याईएका योजनाको स्टेमेटसहित कार्यस्थालमा काम सुरु गरिसक्नु पर्ने बेलामा स्टेमेट हुन भएको ढिलाई प्रति जिविस बाँकेले आफ्नो ध्यानाकर्षण भएको जनाउदै समयमै योजनाको लागत स्टेमेट तयार गर्न जिल्ला प्राविधिक कार्यालय बाँकेलाई निर्देशन समेत दिएको बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले बताए ।
उनले भने–‘ढिलो लागत स्टेमेट भएको कारण जेठ १५ भित्रै योजना सम्पन्न गरी भुक्तानी दिने बाताबरण मिलाउनको लागि आवश्यक निर्देशन कार्यालयले दिईसकेको छ । स्टेमेटको कारण विकासको रकम फ्रिज हुने अवस्था आएमा त्यसको सम्पूर्ण जिम्मेवारी जिल्ला प्राविधिक कार्यालयले नै लिनुपर्छ ।’
जिल्ला प्राविधिक कार्यालय बाँकेका प्रमुख ईञ्जिनियर कमल कुमार अधिकारीले जिल्लाको विकास योजनाको ३० प्रतिशत मात्र स्टेमेट सकिएको जानकारी दिए । उनले आईतबारसम्म प्राय सबै योजनाको स्थलगत अवलोकन सकेर लागत स्टेमेट गरिने गरी आफु र मातहातको प्राविधिकलाई काममा खटाएको बताए ।
उनले भने–‘यो हप्ता सबै योजनाको स्थलगत अवलोकन सकिने र त्यस लगत्तै लागत स्टेमेट गरि योजनालाई निर्धारित समयमै सम्पन्न गराउनको लागि कार्यालयको तर्फबाट सक्दो पहल गरिने छ ।’ जिल्ला प्राविधिक कार्यालय बाँकेमा रहेको जनशक्तिले समयमा योजनाको स्टेमेट गर्न र योजनाको गुणस्तरियता जाँच गर्नुपर्ने भएकोले भएको जनशक्तिमा ३ जना ईञ्जिनियर र ४ जना सव ईञ्जिनियर थपेर काममा लागएको डिई अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post