रुद्र सुवेदी/सदरलाइन
३ माघ, नेपालगन्ज : आफुमाथि हुने घरेलुहिंसा तथा सामाजिक हिंसाको विरुद्ध सामुहिक आवाज उठाउने उद्देश्यले बाँकेको राप्तीपारी बिनौना गाविसका बैदेशिक रोजगार पीडित तथा प्रभावित महिलाहरु संगठित भएका छन् । अभियान नेपालको सहजिकरण तथा सहयोगमा उनीहरु संगठित भएका हुन । घरको आर्थिक अवस्था सुधारको लागि घरसल्लाहले नै बैदेशिक रोजगारमा पुगेका उनीहरु बैदेशिक रोजगारबाट फर्केपछि समाज र घर परिवारको दुव्र्यवहारको पटक–पटक शिकार हुन परेपछि संगठित भएको बताएका छन् ।
‘आफुहरु माथि अनावश्यक रुपले विभिन्न खालको आरोप प्रत्यारोप गर्दै कुटपिट मै घरपरिवार उत्रने र छरछिमेकीहरु भने चाहिने नचाहिने कुरा काटेर समाजमा हामीलाई टिक्नै नदिने भएकोले संगठित हुनु परेको हो’–उनीहरुले सामुहिक भने ।
मानव बेचविखन बिरुद्ध तथा घरेलु र सामाजिक हिंसा बिरुद्ध क्रियाशिल अभियान नेपालको सहयोगमा उनीहरुले आफ्नो समूह निर्माण गरी मासिक रुपले बचत समेत गर्न थालेको बताउछन् । १५ जना बैदेशिक रोजगारबाट पीडित तथा प्रभावित महिलाहरु सदस्य रहेको सो समुहले आफुमा परेको सामाजिक तथा घरेलु हिंसा बिरुद्ध एकजुट भएर न्यायका लागि पैरबी गर्नुको साथै मासिक बचत गर्ने, एकअर्काको समस्या जानकारी गराउने र समाधान खोज्ने कार्य गर्न समुह निर्माण गरेको समुहका एक सदस्यले जानकारी दिए ।
आफन्त र घरपरिवारको सल्लाह र सहयोगले खडिका विभिन्न ठाँउमा पुगेर बैदेशिक रोजगारको नाउमा विभिन्न खाले प्रताडना भोगरे घर फर्कदा परिवार र समाजले उनीहरुले कमाएको नगदमा स्वामित्व लिए पनि उनीहरुलाई घरेलु हिंसा तथा सामाजिक प्रताडनाले गर्दा असहज परिस्थिति भएकोले समूह निर्माण गरेको बताउछन् उनीहरु ।
‘मैले कमाएर पैसा पठाउदा त्यो पैसाले सम्पत्ति जोड्दा म ठिक तर, म घरमा आएपछि मैले कमएको पैसाले जोडेको सम्पत्तिमा मैले भोगधिकार र बस्दा नानाथरिको आरोप र अपहेलना सहनु पर्ने किन’–एक पीडित महिलाले विरक्त भावमा भनिन–‘ यहाँ म जाँदा आफु खुसि गएको भए पो मेरो गल्ती हुन्थ्यो पठाउदा सल्लाहले नै पठाउने तर,आएपछि विभिन्न आरोप लगाएर दिनकै यातना दिने ।’
बाँकेमा बैदेशिक रोजगारमा जाने तथा गएर फर्केका महिलाको संख्या अधिक छ तर, बैदेशिक रोजगारीको कारण आफुहरु मर्कामा परेको छु भनेर अहिलेसम्म कुनै पनि महिलाको उजुरी भने नआएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सरोज पौडेलले बैदेशिक रोजगारबाट फर्केका महिलाहरु घरेलु हिंसामा परे भनेर उजुरी नआएको बताए ।
सो क्षेत्रमा क्रियाशिल अभियान नेपालका अध्यक्ष कमला पन्थले अभियान नेपालले बैदेशिक रोजगारबाट पीडित तथा प्रभावित महिलाहरुको आत्मसम्मान बढाउन र उनीहरुलाई समाजिक न्यायका लागि सहजिकरण गरिदिने कार्य गर्ने गरेको बताईन । उनले बाँकेको बिनौनमा रहका पीडित तथा प्रभावितको समुह निर्माण गर्दै घुम्तीकोषको लागि पहिलो चरणका १० हजार उपलब्ध गराएको जानकारी दिइन ।
उनले भनिन–‘ हामीले उनीहरुलाई संगठित मात्रै गरेनौ उनीहरुमा बचतको बानी बसाल्न अभियान नेपालबाट १० हजार बिउपूजी उपलब्ध गराउदै गाविसबाट समेत लक्षित वर्गको योजना दिलाउनको लागि पहल गर्नसक्ने बनाएका छौ ।’
उनले अभियान नेपालले बाँकेका केही विद्यालयमा बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध सचेतना फैलाउने उद्देश्यले कक्षा ८–१२ का विद्यार्थीलाई समेत सचेतना कक्षा सञ्चालन गर्दै आएको बताईन ।
बैदेशिक रोजगारको विषयमा कानूनी परामर्श दिदै आएको पिपुल्स फोरम नेपालगन्जमा पछिल्लो समय बैदेशिक रोजगारको कारण आफु ठगिएको र कानूनी कारवाहीको लागि सहयोग माग्न आउने पीडित प्रभावितहरुको संख्या विस्तारै बढ्न थालेको कानून अधिकृत सनत कुमार शर्माले बताए । उनले जिल्लामा कार्यक्रम सुरु भएको पहिलो छ महिनामा करिव दुई दर्जन पीडित प्रभावितहरु कानूनी उपचार तथा परामर्शको लागि आफुकहाँ आएको जानकारी दिए ।