नेपालगञ्ज : जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरुलाई उत्प्रेरणात्मक सेवा प्रदान गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जले निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, सिप तथा उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइरहेको छ ।
यसैक्रममा त्यहाँ रहेका कैदी बन्दीलाई सिपमुलक स्वरोजगार, आय आर्जन र व्यवसायका बारेमा परामर्श दिइएको छ । नेपालगञ्जको सुनाखरी रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले सिपमुलक व्यवसाय र स्वरोजगारी लगायतका विषयमा जानकारी दिए ।
उनले कैदीबन्दीलाई तनावको व्यवस्थापन, तथा रोजगारीको सम्भवना लगायतका विषयमा थुप्रै सम्भावना र दिर्घकालिन सफलता प्राप्त गर्ने आधारका बारेमा प्रशिक्षण दिएका थिए । प्रबन्ध निर्देशक शर्माले व्यवसाय संचालन गर्दाको फाईदा, बेफाइदा, संर्घष लगायतका बारेमा अनुभव आदान प्रदान गरे ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीका अनुसार कारागारका कैदी बन्दीलाई नियमित रुपमा मनोसामाजिक परामर्श सेवा दिइदै आएको बताए ।
उनका अनुसार कारागारका कैदीवन्दीलाई निशुल्क कानूनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशिलता, उत्प्रेरणा, मनोसामाजिक परामर्श, प्रशिक्षण कार्यक्रम गरिएको छ । त्यस अवसरमा ईश्वरीय विश्वविद्यालयका दिदीले तनाव व्यवस्थापनका बारेमा जानकारी दिएका थिए ।