थारु समुदायमा छायो ‘माघी’ को रौनक, ठाकुरद्दारा लगायतका स्थानमा मेला लाग्ने

२८ पुष २०७३, बिहीबार १०:२८
 

विनोद अधिकारी / सदरलाइन  
२८ पुस बर्दिया : वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै आफ्नो गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छोपेको छ ।
सप्ताहव्यापी यो पर्वमा थारु समुदायले कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ । माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना बनाउनुका साथै परिवारका सदस्यको कामको बाँडफाँड समेत गर्छन् ।
यो समुदायले माघी पर्वका अवसरमा ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा शिक्षक कालीचरण चौधरी बताउनुहुन्छ । उहाँका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन् ।
माघीको दिन (माघ १ गते) बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का (पैसा) लुटाउने प्रचलन रहेको थारु समुदायका अगुवा विश्वराज पछलडङ्ग्याको भनाइ छ । माघीको अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ । पर्वका अवसरमा थारु समुदायले आ–आफ्नो गाउँको बडघर (अगुवा) र चौकीदार समेत चयन गर्दछन् । त्यस अवसरमा बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वारा, राजापुर, कोठीयाघाट लगायतका धार्मिक तथा पर्यटकिय स्थलमा माघे संक्रान्तीका दिन ठूलो मेला लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलेसियमा मेरी बस्सै भेरी गंगा सांस्कृतिक धमाका

२८ पुष २०७३, बिहीबार १०:२८
सदरलाइनडटकम    २८ पुस, मलेसिया : नेपाली बौद्ध धर्मावलम्बीहरुको महान पर्व ल्होसार र साथै चाइनिज नयाँ वर्षको अवसर पारेर यहीँ जनवरी २९ तारिख मलेसियमा मेरी बस्सै भेरी गंगा सांस्कृतिक धमाका २०१७ भब्य रुपमा हुने भएको छ । मलेसियामा नै रहेर बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेका नेपालीहरुको समुहले कार्यक्रम मेरी बास्सै […]