सदरलाइनडटकम.
२ कात्तिक, नेपालगन्ज : बाँकेको नौबस्ता–७ तल्लो गाभरमा एक बृद्ध महिलाको शव भेटिएको छ । शवको अवस्था हेर्दा उनलाई हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लले दिएको जानकारी अनुसार सो शव सोही ठाँउकी ६४वर्षिया देवीसरा विकको हो । उनी आफ्नै घरसंगै रहेको घुम्तीपसलमा मृत अवस्थामा भेटीएकी हुन ।
प्रहरी नायव उपरिक्षक काफ्लेले भने–‘घटनास्थलको अवस्था हेर्दा कर्तव्य गरी मारिएको प्रारम्भिक अनुसंधानले देखाएको छ । घाँटीमा निलोडाम छ ।’ मृतकको घाँटीमा निलो डाम रहेको र शरिर भरी कमिला लागेकोले सोमबार राती नै हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतक देविसरा भूपु भारतीय सेनाको श्रीमती भएको र सोमबार मात्रै पेन्सन बुझेको प्रहरीलाई जानकारी आएको बताए । मृतक देवीसराका साथमा उनकै छोरी ज्वाई ३५ वर्षिय हस्तबहादुर विक र हस्तबहादुरका छोरा १० वर्षिय सन्दीप विक बस्दै आएको मंंगलबार बिहानैदेखि उनीहरु नदेखिएको स्थानीयले बताएको जानकारी दिए ।
घरमै रहेको घुम्तीको पसल दिनभरी जसो बन्द भएपछि मंगलबार साँझ करिव ४ बजे मात्रै सो घटनाको बारेमा प्रहरीलाई जानकारी आएको थियो । प्रहरीले मृतकको ज्वाई हस्तबहादुरको खोजी गरी रहेको जनाएको छ ।
घटनास्थलबाट एउटा पर्स र सिम निकालेको मोबाईल बरामद भएको छ । मोबाईल देवीसराको ज्वाई हस्तबहादुरको रहेको स्थानीय प्रहरीलाई बताएका छन् । मृतक देबीसराको छोरी शुष्मा विक बैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेको र उनी २ दिनमा नेपाल फर्कने तयारीमा रहेको जानकारी आएको छ । केही दिन अघि मात्रै नौबस्तामा एक युवकको हत्या गरेर गोडेको अवस्थामा र कम्दीको अडहर बारीमा महिलाको हत्या गरी फालेको अवस्थामा शव भेटिएको थियो ।