सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक गर्भवति महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुकुम चौरझारी निवासी ती महिला बुधवार भर्ना भएकी ती महिलाको महिना पुगिसकेकाले विहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो ।
शल्यक्रियाको तयारी भइरहेका बेला उनलाई एक्कासी ज्वरो आएपछि कोरोना परीक्षणका लागि तीन दिनअघि लिइएको स्वाबको रिपोर्ट शनिवार पोजेटिभ आएको हो । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा. प्रकाश थापाले उनलाई नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लैजाने तयारी भइरहेको बताए । शिक्षण अस्पताल कोहलपुर कोभिड ३ लेभलको अस्पताल हो ।
जटिल खालका कोरोना संक्रमित विरामीहरुको त्यही उपचार हुने गरेको छ । उक्त अस्पतालले यसअघि कोरोना संक्रमित तीन जनाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको छ । ती महिलामा कोरोना देखिएपछि भेरी अस्पतालको प्रसुति वार्र्ड शील गरेर आउजाउ बन्द गरिएको भन्दै डा. थापाले उक्त वार्डलाई सेनिटाइज गर्ने तयारी भइरहेको बताए ।