स्थानीय तह निर्वाचन सुरक्षाका लागि सीमामा संयुक्त गस्ती

२९ बैशाख २०७४, शुक्रबार ०९:५७
 

सदरलाइनडटकम   
२९ बैशाख, नेपालगन्ज : नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै बाँकेको सीमामा सुरक्षा सतर्कता बढाइएको छ । नेपाली सुरक्षा निकाय मात्र नभई भारतीय सुरक्षा निकायसमेतले सीमामा निगरानी बढाएको छ ।
बाँकेको बिभिन्न स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सीमामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती सुरु गरीएको हो । सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ रेखदेखका लागि बिहीबार पिल्लर नम्बर २६ देखि ३० सम्म सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती गरिएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट कालाबञ्जर र सीमा सशस्त्र बल कम्पनी हेडक्वार्टर मुन्शीपुर्वाका १३÷१३ जना सुरक्षाकर्मीको टोलीले बिहान संयुक्त गस्ती गरेको बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिए ।
भारतीए एसएसबीका इन्स्पेक्टर तेजवन्त सिँहको कमाण्डमा भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरी निरीक्षक कुँवरको नेतृत्वमा सशस्त्र प्रहरीले सीमामा संयुक्त गस्ती गरेको हो । सीमा ईलाकाको रेखदेख तथा सीमा अपराध नियन्त्रणका लागि नियमित संयुक्त गस्ती गरिँदै आएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले स्पष्ट पारे ।
नियमित गस्ती भनिए पनि नेपालमा हुन लागेको पहिलो चरणको स्थानीय चुनावलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनका लागि सीमामा बिशेष निगरानी गर्नुका साथै संयुक्त गस्ती गर्न थालिएको प्रहरी श्रोतले बताएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा आइतबार हुने चुनावका लागि बाँकेमा बिशेष सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटन प्रवद्र्धन गर्न सांस्कृतिक कार्यक्रम

२९ बैशाख २०७४, शुक्रबार ०९:५७
                                                                                                    […]