‘ऊर्जामा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्न आवश्यक’

सदरलाइन संवाददाता १२ बैशाख २०८१, बुधबार १८:१३
 

काठमाडौँ  : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्ने बताबरण निर्मण गर्न आवश्यक रहेको बताएकी छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयक सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन ।

नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उनले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताईन । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन नसकेको उनको चिन्ताको विषय थियो ।

हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको बताउँदै उनले सात वटा मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताईन ।

मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर बन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताईन । ‘वातावरण संरक्षण, स्थानीय समुदायको जनजीवनलाई पनि ध्यान दिनुपर्ने हुनाले सबै कुरालाई ध्यान दिनुपर्ने बाध्यता छ’, उनले भनिन् ।


नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको भन्दै उनले लगत्तै हुन लागिरहेको लगानी सम्मेलन पनि देशमा लगानी भित्र्र्याउने उद्देश्यले आयोजना गरिएको कुरामा जोड दिदै भनिन–‘केही समय पहिले १० हजार मेगावाटको एग्रिमेन्ट भारतसँग भएको छ । लगानी गर्ने संस्था, व्यक्ति, युवाहरूमा नैराश्यता छाएको छ । हाम्रो देशमा पनि धेरै सम्भावना रहेको छ । त्यस कारणले हामी पनि ऊर्जा बेचेर धनी किन नहुने ?’

ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेको उनको भनाई थियो ।

महिला नेतृत्वका सन्दर्भमा बिस्तारै बढ्दै गएको भन्दै उनले भनिन्, ‘लामो समयका लागि लगानी गर्ने ठुलो भएको भएकाले यसमा अलि गाह्रो पनि छ । सँगसँगै लगानी र बिजनेस मात्र नभएर त्यस क्षेत्रका स्थानीयको गरिबी न्यूनीकरण, सामाजिक विकासका लागि पनि तपाईंहरूले योगदान दिन आवश्यक छ ।’

महिलाको छवि केही न केही रूपमा अलि बढी इमानदार छन् भन्ने खालको छाप पनि रहेको दाबी गर्दै उनले ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता भित्र्याउनका लागि राज्यका तर्फबाट प्रोत्साहन गर्न आवश्यक रहेको बताउदै त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता मन्त्री चौधरीले व्यक्त गरिन ।

हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले र्यालीको उद्घाटन गरेको कार्यक्रममा आज बिहान इभी र्याली आयोजना गरी विद्युतीय सवारी प्रवर्द्धन र विद्युत् खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुआत गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

सो अवसरमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे ।
इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरिएको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागि समेत विद्युतीय सवारी र्यालीले थप प्रर्वद्धधन हुने उनको आशा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश : सात जना मन्त्रीको जिम्मेवारी तोकियो

१२ बैशाख २०८१, बुधबार १८:१३
दाङ : लुम्बिनी प्रदेसमा सत्ता गठबन्धन फेरिए लगत्तै बनेको लुम्बिनी प्रदेश सरकारका सात जना मन्त्रीको जिम्मेवारी तोकिएको छ । तोकीएका जिम्मेवारी अनुसार एमालेका चार, नागरिक उन्मुक्तिका एक, नेकपा एकिकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदको जिम्मेवारी तोकिएको हो । बुधबार बसेको प्रदेश मन्त्री परिषद् बैठकले मन्त्रीहरुको कार्यविभाजन गर्ने निर्णय गरे […]