सदरलाइनडटकम,
२० कार्तिक, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले पनि भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरे ।
खनालले भने,‘उहाँको भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएका पछिल्ला सबै खाले तित्तताहरु हटेका छन्, उहाँको सद्भावपूर्ण भ्रमण भएकोले यो भ्रमण एकदमै सफल भयो ।’
यद्धपी उनले मुखर्जीको नेपाल भ्रमणलाई लिएर मुख्यतः दुई वटा विषय उठाएर विवादित बनाउन खोजिएकोप्रति कडा आक्रोश पोखे । उनले थपे,‘उहाँको भ्रमणको बेला सार्वजनिक विदा दिएको विषयलाई लिएर आलोचना गरियो, तर यो सहमतिमै गरिएको निर्णय हो, राष्ट्रपति ज्यूका आग्रहमै यो निर्णय गरिएको हो ।’ यस्तो विषयलाई उछाल्न खोज्नु गलत भएको उनको टिप्पणी थियो ।
खनालले भ्रमणका बेला नागरिकहरुले सास्ती पाएको कुरामा भने गल्ती भएको स्विकारे ।
उनले अघिल्लो ओली नेतृत्वको सरकारले नेपालको आन्तरिक एकता भाँड्ने काम गरेको समेत आरोप लगाए । मधेशी मोर्चाको माग पूरा गर्न संविधान संशोधन गर्नुपर्ने भएकोले सरकारले त्यसको लागि अन्तिम गृहकार्य गरिरहेको खनालले जनाए । उनले भने,‘मधेश केन्द्रित दलहरुपनि सहमतिमा आउनुपर्छ, एमालेपनि सहमतिमा आउनुपर्छ, अनिमात्रै मुलुक र जनताले निकास पाउँछन् ।’
पछिल्लो समय नेकपा एमाले र सरकारवीच तित्तता कम भएको समेत उनको विश्वास थियो । उनले भने,‘अब सरकारको तर्फबाट संशोधन प्रस्ताव सदनमा जानुपर्छ, यसको लागि अन्तिम तयारी भैरहेको छ, प्रमले हिजोपनि एमाले अध्यक्ष ओलीसँग कुरा गर्नुभएको छ ।’ खनालले कार्तिक मसान्तभित्रै संशोधन प्रस्ताव पेश हुने दाबी गरे ।
मन्त्रीहरुको कार्यसम्पादनबारे प्रधानमन्त्री रुष्ट नभएको उनको दाबी थियो । उनले भने,‘प्रधानमन्त्रीले त मन्त्रीहरुलाई काम तिव्र गतिमा गर्नुपर्यो भन्नुभएको हो नि, गरेका निर्णयहरु कार्यान्वयनको तहमा पुर्याउनुपर्छ भन्नुभएको हो नि ।’
नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप मजबदुत : विश्वकर्मा
नेपाली काँग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले पनि भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा देखा परेका चिसोपनाहरु हटेको दाबी गरे । उनले भने,‘महामहिम राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध थप मजुबदु बनेको छ ।’
मुखर्जीको नेपाल भ्रमणमा उपत्यकाको यातायात देखि अन्य व्यवस्थामा सरकारको कमजोरी रहेको विश्वकर्माले आरोप लगाए । उनले भने,‘सरकारले चाहेर त यस्तो गरेको होईन होला, तर व्यवस्थापनमा त्रुटि देखियो ।’
नेता विश्वकर्माले संविधान संशोधनबारे ठूला दलहरु एक ठाउँमा आएको बताउँदै भने,‘यसको लागि प्रधानमन्त्रीले स्वयम पहलकदमी लिरहनुभएको छ, यथाशिघ्र संशोधन प्रस्ताव पेश हुन्छ ।’
काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुको कार्यसम्पादनबारे केन्द्रिय समितिको बैठकमा कुरा उठिसकेको बताउँदै पार्टी सभापतिले मन्त्रीहरुलाई जनप्रिय काम गर्न निर्देशन दिएको स्प्ष्ट पारे ।
त्यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवा भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको समेत जनाए । त्यस्तै उनका अनुसार सभापति देउवाले भारतका अन्य राजनीतिक दलका नेताहरुसँग पनि समसामयिक राजनीतिक विषयमा कुरा गर्नेछन् ।
मुखर्जी हाम्रो नातेदार होईनन, उहासँग राजनीतिक कुरा नभएर अरु के हुन्छ त ? : झा
मधेशी मोर्चाका नेता एवम् नेपाल सद्भावाना पार्टीका अनिल झाले पनि मुखर्जीको नेपाल भ्रमण फलदायी भएको टिप्पणी गरे । झाले भने,‘द्धिपक्षीइ सम्बन्ध उचाईमा पुर्याउन र आपसी विश्वास बढाउन मद्दत पुगेको छ ।’
राष्ट्रपति मुखर्जी र मधेशी मोर्चावीच भएको छलफलमा राजनीतिक विषयमा कुरा नभएर के विषयमा कुरा हुनु त भन्दै अध्यक्ष झाले प्रश्न गरे । उनले अघि थपे,‘मुखर्जी हाम्रो नातापर्ने होईनन, उहाँसँग राजनीतिक कुरा नगरेर के गर्ने त ? भारतलाई पनि हाम्रोबारेमा राम्रोसँग जानकारी छ ।’
उनले नेपालको संविधान संशोधनबारे भारतको चासो रहेको कुरा कुनै छुपाउनुपर्ने विषय नभएको समेत जिकिर गरे । उनले भने,‘भारत सरकारले आफ्नो नीति अनुसार बोल्छ नि ।’ उनले एमालेप्रति टिप्पणी गर्दै भने,‘एमालेले पनि बोल्न पाउनुपर्छ नि, उसले बोलेरै गरि खाको छ ।’
उनले संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा मधेशी जनताहरु अहिले दोधारमा रहेको बताए । उनले भने,‘सरकारले पटक पटक संशोधन गर्छु भन्ने मिति तोक्दै नगरेका कारण आज मधेशी जनता विश्वास गर्ने अवस्थामा छैनन ।’ आफू लक्ष्मीपूजाको दिन तराईमा रहेको बेला प्रधानमन्त्रीले मोर्चासँग छलफलको लागि आफूहरुलाई डाकेको भन्दै मोर्चाका साथीले काठमाडौं आउन आग्रह गरेको उल्लेख गर्दै भने,‘मैले आज लक्ष्मीपूजाकै दिन किन रोज्नुपर्यो ? कम्युनिष्ट नेताहरु श्राद्ध त गर्दैनन्, लक्ष्मीपूजा त परै जाओस्, मैले त्यही भनेर जवाफ दिएँ ।’