लकडाउनमा महिला हिंसाका घटना बढे, ठाडो उजुरी आउने तर मिलापत्रमा टुंगिने 

१३ असार २०७७, शनिबार १८:१३
 

सदरलाइन / लक्ष्मी तिमिल्सेना,

नेपालगञ्ज : कोरोना संक्रमणको त्रास र लकडाउन छ । मान्छे घरभित्र छन् । परिवारका सदस्यसंगै छन् । यस्तोमा हिंसाका घटना घट्नु साटो बढेका छन् । सरकारले बन्दाबन्दीको घोषणा गरेसँगै बाँके जिल्लामा हिंसाका घटना बढेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कमा गत वर्षको तुलनामा पछिल्लो ३ महिना यता जिल्लामा हिंसाका घटना बढेको पाईएको छ ।

 तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ । त्यसमध्ये ४४ जना महिला पीडित छन् । ८ वटा पुरुषले समेत घरेलु हिंसामा परेको उजुरी दिएका छन् । ठाडो उजुरी धेरै आए पनि त्यस्ता उजुरी मुद्धा प्रक्रियामा गएका छैनन् । जिल्लामा एक जना महिलाले मात्रै घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

बन्दाबन्दीको समयमा ७ वटा जबरजस्ती करणीका घटना भएका छन् । त्यसमा ५ बालिका र २ महिला पीडित छन् । २ बालिकामाथि जबरजस्ती करणीको प्रयास भएको छ । यस्तै एक बालिकालाई अपहरण गरि जबरजस्ती करणी गरिएको छ । एक बालविवाह भएको छ भने १ बालिकामाथि यौन दुराचारको घटना भएको छ । एक बहुविवाहको घटना पनि दर्ता भएको छ ।

हिंसामा परेका धेरैजसो महिलाले घर परिवारका सदस्यबाटै हिंसा भोग्नु परेकोे छ । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बाँकेको ईन्चार्ज तथा प्रहरी सहायक निरिक्षक श्यामकुमारी पाईजाले घरभित्र र आफन्तबाट हिंसा भोगेका महिला धेरै आएको बताईन् । ‘प्रहरीमा घरेलु हिंसा पीडित महिलाहरू ठाडो उजुरी लिएर आउने गरेका छन्,’ उनले भनिन् । तर मुद्धा प्रक्रियामा जादैछनन् । छलफल र मेलमिलापमा जाने गरेका छन् ।’


महामारीको समयमा महिला तथा बालबालिका घरेलु हिंसा र जबरजस्ती करणी मात्र नभई अन्य धेरै प्रकारका हिंसामा परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यस्ता घटनामा पनि महिला पीडित छन् ।

बन्दाबन्दीको समयमा २३ वटा सामाजिक हिंसाका घटना भएका छन् । जध्ये १७ जना महिला पीडित छन् । त्यसमा ५ जना पुरुष पीडित छन् । यस अवधीमा २ बालक, २ बालिका र ३ महिला गरि ७ जना हराएका छन् । ३ बालक, १ बालिका र १ महिला गरि ५ जनालाई बेवारिसे अवस्थामा फेला पारिएको छ । एक बालक र २ जना महिला गरि ३ जनाले आत्महत्या गरेका छन् । एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । कर्तव्य ज्यान सम्बन्धि ३ वटा घटना दर्ता भएका छन् ।

लकडाउनको अवस्थामा देवानी प्रकृतीको मुद्दा लिइएन । अदालत पुर्णरुपमा बन्द भएको कारणले सरकारवादी अर्थात फौजदारी मुद्धामा पनि खासै ध्यान दिइएन । यसले पीडित झनै पिडामा परेको मानवअधिकारकर्र्मी तथा अधिवक्ता बसन्त गौतमले बताए । ‘यो समयमा महिलालाई कामको बोझ पनि बढेको छ । घरभित्रै पनि अनेकथरी हिंसा भएको छ,’ उनले भने–‘सुरक्षाकर्मीले पनि हिंसाको गहिरो अनुसन्धान गर्न नसकेको अवस्था छ ।’

 हिंसाको ठाडो उजुरीका लागि पनि सहज बाताबरण नभएको बेला मुद्धा प्रत्रिया टाढाको कुरा रहेको उनले बताए । घरेलु सहित कतिपय महिलासम्बन्धी मुद्धा हेर्न हरेक स्थानीय तहमा स्थानीय न्यायीक समिति छ । तर, त्यले पनि महिलाका मुद्धामा ध्यान दिन नसकेको अधिकारकर्मी बसन्तले बताए ।

Next Post

कोरोना हटस्पट बनेको नरैनापुर कोरोना मुक्त भएसंगै विकासले गतिलिदै

१३ असार २०७७, शनिबार १८:१३
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिका कोबिड–१९ नोबल कोरोना भाइरसको हटस्पट बन्यो, बाँके जिल्लाकै अत्यन्तै विकट गाउपालिकाको पहिचान बनाएको नरैनापुरमा अहिले संक्रमितको संख्या शुन्यमा झरेको छ । कसरी नियन्त्रणमा आयो कोरोना भाईरसको हटस्पट बनेको नरैनापुरमा कोरोनाको संक्रमण ? एकाएक संक्रमितको संख्या बृद्धि भएपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि निषेधाज्ञा सहित […]