कालीकोट : कालीकोटको पचाल झरना गाउँपालिका वडा ८ मा कुलो निमार्ण भएपछि बयाल झरनाको पानी किसानले सदुपयोग गर्न पाएका छन् । मानव अधिकार तथा वातारण बिकास केन्द्र (हुरुन्डेक) नेपालको सहजिकरणमा एक हजार दुई सय मिटर कुलो निर्माण भएपछि बयाल झरनाबाट बग्ने पानी प्रयोगमा आएको हो ।
अनुकुलन कोषको ७२ लाख लगानीमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघ बिश्व खाद्य कार्यक्रमको कार्यन्वयनमा कुलो निर्माण भएको उपभोक्ताको भनाइ छ । बयाल झरनादेखि भिटा जिउला कुलो निर्माण समितिका अध्यक्ष पुर्णवहादुर शाहीले एक हजार मिटर कुलो पक्की भएको बताए ।
उनले दुई सय मिटर कुलो कच्ची निर्माण भएपछि खेतमा पानी पुगेको बताए । सिंचाइँ अभावले पलाँता क्षेत्रका रुपमा परिचित भिटा, गोठीजिउला अब सिन्चित हुन थालेको अध्यक्ष शाहीले सुनाए । अध्यक्ष शाहीले नेपालको कर्णाली क्षेत्रमा खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्वन्धी क्याफ्स कर्णाली परियोजनाले उत्पादनमा सहयोग पुगेको बताए ।
२०७८ साल बैशाखमा निमार्ण कार्य सुरु भएको कुलो २०७८ साल फागुन महिनामा सम्पन्न भएको थियो । जम्मा ११ महिनामा एक हजार दुई सय मिटर कुलो निर्माण हुँदा भिटाजिउलो सिन्चीत हुन थालेको छ । वडा ८ का वडा अध्यक्ष जयराम टमट्टाले भिटा जिउलोका लागि कुलो निर्माण हुँदा सहज भएको बताए ।
कुलोमा निरन्तर पानी आउने भएपछि कृषकलाई तरकारी खेती गर्न सहज भएको स्थानीय कृषकले बताए । भिटा गाउँका परेग शाहीले मङ्सिर यता हरियो तरकारी नदेखिने आफ्नो गाउँमा आजभोलि हरियो तरकारी भाजी, मुला, पालङगो लगायतका सागपात पाइने गरिएको छ ।