सरकार ढल्ने म्याद सार्दै आएकालाई ओलीले भने : २०८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ

सदरलाइन संवाददाता १५ माघ २०८१, मंगलवार १८:४१
 

काठमाडौं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन् ।

एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको बताउदै ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको उल्लख गर्दै त्यसको लागि एमाले र कांग्रेसको सरकार बनेको उनले स्पष्ट पारे ।

सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसदमा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उनले स्पष्ट पारे ।

राष्ट्रिय हित, गौरव, सुशासनको पक्षमा संसदमा एमालेको भूमिका हुने उनले बताउदै कमी कमजोरी रहेका कुरालाई सच्याउँदै सुशासनलाई सुदृढ बनाएर अघि बढ्नु पर्नेमा अध्यक्ष ओलीले जोड दिए । ‘हाम्रो अत्यन्त सक्रिय र बहुआयामीक दृष्टिकोण रहने छ’, उनले भने ।

सरकारले छिमेक सम्बन्धलाई विशेष रूपमा अघि बढाउने बताउदै आन्तराष्ट्रिय समुदायमा पनि विश्वशान्ति, निःशस्त्रीकरण र अन्तराष्ट्रिय न्यायको पक्षमा सरकारको स्पष्ट दृष्टिकोण रहेको ओलीले स्पष्ट पारे । ‘हाम्रो सम्बन्ध कोही पनि शत्रु छैन हाम्रो, सबै हाम्रा मित्र हुन् भन्ने आधारमा हुने छ’, ओलीले भने ।

नेपाल मानवता र शान्तिको पक्षमा रहेको उनले बताए । नेपालमा २० प्रतिशतको दरमा रहेको गरिबीलाई शून्यमा झार्ने योजनाका साथ सरका अघि बढ्ने ओलीले स्पष्ट पारे ।
व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने गलत प्रचार गरिएको भन्दै ओलीले त्यसमा एमालेका सांसदहरू सचेत हुनु पर्ने बताए । आफ्नो पालामा देशमा असाधारण काम भएको ओलीले दाबी गरे ।


संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै ओलीले अहिलेको संविधान दुई पटक संशोधन भइसकेको बताउनुभयो । संविधान संशोधन गरेर लोकतन्त्रलाई थप बलियो बनाउने काम गरिएको ओलीले स्पष्ट पारे ।

‘नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ, स्वागतयोग्य छ, लोकतन्त्रमा लोकतान्त्रिक प्रक्रिया बाहेक अन्य कुनै पनि अराजक बाटोबाट परिवर्तन सम्भव छैन’, ओलीले भने ।

अहिले दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै ओलीले त्यसको पछि नलाग्न पनि आग्रह गरे । सरकार ढल्ने म्याद सार्दै आएकालाई ओली भने ‘२०८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ, निर्वाचन पछि के परिणाम आउँछ, त्यही अनुसारको सरकार बन्छ, मान्छेहरूले अस्ति गएको मंसिर बुझेछन्, २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्विस बैङ्कमा पैसा राखेको छ भनेर प्रचार गरेको भन्दै भ्रामक प्रचार गरिएको बताए । त्यस्ता प्रचार गर्नेको कुनै खण्डन गर्न आवश्यक नरहेको उनले स्पष्ट पारे ।

आफूलाई पशुपतिमा पित्तल चढायो, छानबिन गरी पाउँ भन्नेसम्मका आरोप लगाइ छानबिनसम्म गरिएको ओलीले स्मरण गराए । पशुपति चढाइएको सुन उक्काएर जोख्दा कुनै कैफियत फेला नपारेपछि उनीहरू चुप लागेका ओलीले बताए । कमजोरहरूको झुट बोल्ने, बेइमानी गर्ने चरित्र हुने ओलीको भनाइ छ ।

ओलीले सांसदहरूलाई अत्यन्तै संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दै तथ्यमा आधारित बहस गर्ने निर्देशन दिए । तथ्य र सत्यको आधारमा बोल्ने कुरामा नहिचकिचाउन उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोल्पामा आगलागीमा परि ७५ बर्षिय जेष्ठ नागरिकको मृत्यु

१५ माघ २०८१, मंगलवार १८:४१
डोल्पा :  डोल्पाको मुड्केचुला गाउँपालिकामा बुधबार भएको आगलागीमा परि ७५ बर्षिय जेष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले वडा नम्बर –४ ईल स्थित गाउँमा रहेको बादी कामीको घरमा विहान ९ बजेको समयमा आगलागी हुंदा ७५ वर्षिय जेष्ठ नागरिक बादी सार्कीको सुतेको अवस्थामा […]

ताजा अपडेट