जनता आवासअन्तर्गत बाँके र बर्दियामा ६८० घर निर्माण हुने

सदरलाइन संवाददाता १० आश्विन २०७९, सोमबार १४:४४
 

नेपालगञ्ज : बाँके र बर्दियामा जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७९–०८० मा ६८० घर निर्माण गरिने भएको छ ।

लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जले बाँकेमा ३४७ र बर्दियामा २८४ नयाँ घर निर्माण गरिने जानकारी दिएको छ ।

बाँके र बर्दियामा लक्षित दलित तथा विपन्न समुदायका लागि घर निर्माण गर्न प्रक्रिया सुरु गरिएको सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख रामआश्रय शाहले जानकारी दिए ।

विपन्न घर निर्माण गर्ने परिवारको छनोटका लागि सम्बद्ध प्रदेशको निर्वाचित प्रदेश सांसदको नेतृत्वमा समिति रहने व्यवस्था छ । ‘लक्षित समुदायको घर निर्माणका लागि निवेदन माग गरेका छौँ,’ निमित्त प्रमुख शाहले भने ।


उनले कार्यक्रम अन्तरगत पहिलो चरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । पहिलो चरणमा बाँके र बर्दियामा तीन हजार १०० घर निर्माण गर्ने कार्यक्रम रहेकोमा हालसम्म दुई हजार ८४७ घर निर्माणका लागि कायम भइसकेका छन् ।

तीमध्ये दुई हजार १४४ घर निर्माण भई हस्तान्तरण गरिएको छ । ७०३ घर निर्माणका लागि कार्यान्वयनका क्रममा छन् भने २५३ घर मात्रै निर्माण गर्नुपर्नेछ । प्रदेश सरकारको २०७५ मङ्सिर १८ देखि यो कार्यक्रम सुरु भएको हो ।

यसअघि सङ्घीय सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको थियो । अनुदान पाउने परिवारले घर निर्माणका लागि भइपरिसहित तीन लाख ५० हजार रुपयाँ पाउने निमित्त प्रमुख शाहले जानकारी दिएका छन् ।

अहिलेको मूल्यवृद्धिको अवस्थामा एक परिवारलाई बस्नका लागि तीन लाख ५० हजार एकदमै न्यून रकम भएको सम्बद्ध व्यक्तिहरूले गुनासो गर्ने गरेको सहरी विकास तथा भवन कार्यालयका कर्मचारीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल कर्मचारी युनियन बाँकेद्वारा शुभकामना आदान प्रदान

१० आश्विन २०७९, सोमबार १४:४४
नेपालगञ्ज : विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा नेपाल निजामति कर्मचारी युनियन बाँकेले नेपालगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । युनियनका बाँके अध्यक्ष उद्धब श्रेष्ठको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिस्टको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने सहयोगी वक्ताहरुले यस्ता चाडपर्वहरुले […]