ब्याट्री रिक्सा किन्दै स्वरोजगार बन्दै बाँकेवासी

सदरलाइन संवाददाता ३२ श्रावण २०८०, बिहीबार १६:१४
 

नेपालगञ्ज : तीन वर्ष विदेश बसेर फर्किएका बाँके डुडुवाका सोहराब खानले फेरि विदेश जाने तयारी गरिरहेकै बेला ब्याट्री रिक्सा चलाउन थाले । रिक्सा चलाएर दिनदिनै राम्रो आम्दानी हुन थालेपछि उनले विदेश जाने सोच त्यागे ।

राहदानी बनाएर भिसाका लागि दौडधुप गरिरहेका नेपालगञ्ज–११, इदगाहरोडका नन्कु साईले पनि केही दिनका लागि मात्र भनेर ब्याट्री रिक्सा चलाउन थाले । दैनिक एक हजार पाँच सय रुपियाँभन्दा बढी आम्दानी हुन थालेपछि उनले पनि विदेश जाने सोच त्यागेर राहदानी बाकसमा बन्द गरे ।

यी दुई जना त उदाहरण मात्र हुन् । बाँकेमा ब्याट्री रिक्सा भित्रिएपछि चलाउन शुरु गरेका सयौँ युवाले विदेशको मोह त्यागेर आफ्नै घरमा परिवारसँग रमाउँदै राम्रो आम्दानी गरिरहेका छन् ।

पछिल्लो समय ब्याट्री रिक्सा बाँकेको सहरी र ग्रामीण दुवै क्षेत्रका अधिकांश बेरोजगार युवाको रोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा ब्याट्री रिक्सा भित्रिएपछि अधिकांश बेरोजगार युवाले सो सवारीसाधनलाई रोजगारीको माध्यम बनाएका हुन् । शहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्ममा ब्याट्री रिक्साको पहुँच पुगेपछि सयौँ युवाले विदेश जाने सोच त्यागेर आफ्नै गाउँशहरमा रोजगारमा लागेको बताएका छन् ।


नेपालगञ्ज–१, धम्बोझीका युवक नरेश गुप्ताले अहिले ब्याट्री रिक्सा चलाएर मासिक ३० देखि ३५ हजार रुपैयाँ कमाइरहेकाले विदेश जाने सोच दिमागबाट हटाइसकेको बताए । कोहलपुरका रमेश थारूले पनि ब्याट्री रिक्सा किनेर चलाउँदा निकै राम्रो आम्दानी भइरहेको बताए । उनले यसबाट सर्वसाधारणलाई सेवासँगै आफ्नो रोजगारीसमेत बनेकाले यसमा निकै आनन्द मिलिरहेको बताए ।

बाँकेमा अहिले करिब १५ हजार युवाले ब्याट्री रिक्सा चलाउने कामलाई आफ्नो रोजगार बनाउनुभएको अनुमान गरिएको छ । ब्याट्री रिक्साको नेपालगञ्जस्थित थोक बिक्रेता सादाब इन्टरप्राइजेजका सञ्चालक कामरान राईले हालसम्म करिब १० हजारभन्दा बढी ब्याट्री रिक्सा बाँकेमा बिक्री गरेको जनाउँदै अधिकांश युवाले किनेको र त्यसैलाई रोजगारीको मुख्य माध्यम बनाएको बताए ।

उनले अधिकांश बेरोजगार युवा नै रिक्सा खरिदका लागि आउने गरेको बताए । उनले धेरैलाई केही रकम मात्र जम्मा गराएर किस्ता तिर्ने गरी रिक्सा उपलब्ध गराएको पनि बताए । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा कार्यालयको ढोका फोडेर चोरी

३२ श्रावण २०८०, बिहीबार १६:१४
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ फत्तेपुरको वडा कार्यालयमा गएराती चोरी भएको छ । चोरले वडा कार्यालयको ढोका फोडेर समाग्रीहरु लिएर गएको बताइएको छ । शुक्रबार राती करिब १ बजेको सयममा वडा कार्यालयमा चोरी भएको राप्तीसोनारी ६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए । बिहान कार्यालय सहयोगी वडामा […]