वैकुण्ठधाम आध्यात्मिक महोत्सवको पहिलो दिनमै करिव ८ लाख संकलन

सदरलाइन संवाददाता २३ कार्तिक २०८१, शुक्रबार १८:०४
 

नेपालगञ्ज : नेपालगञ्जको रामलिला मैदानमा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ सुरु भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आज शुक्रबार पहिलो दिनमै करिव ८ लाख आर्थिक संकलन भएको छ ।

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा श्रीमदभागवत कथा वाचन प्रारम्भ भएको हो । प्रवचनका क्रममा पं पोखरेलले अन्य बेलामा हुने गरेको महायज्ञ भन्दा नेपालगञ्जमा जारी यसपटकको महायज्ञको महत्व विशिष्ठ प्रकारको भएको बताए ।

उनले जीवनको अन्तिम गन्तब्यलाई सार्थक र सुखमय बनाउने उद्देश्यले महायज्ञ आयोजना गरिएकाले यसपटकको महायज्ञको विशेष महत्व रहेको बताए । यज्ञमा गरिएको दान आफ्नै अन्तिम गन्तब्य बनाउन भएकाले दिल खोलेर दान गर्न उनले आग्रह गरे ।

वैकुण्ठधामको पहिलो कथावाचनको दिनमा दाताहरुबाट ७ लाख ३८ हजार ४ सय १६ रुपैयाँ दान प्राप्त भएको मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । आजको यज्ञमा पद्मा केसीबाट २ लाख २ हजार १ सय १ रुपैयाँ, डा. कीर्तिपाल सुबेदीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, शाश्वत आचार्य स्मृति प्रतिस्थानबाट ५१ हजार प्रदान गरेका छन ।

यसैगरी डा प्रकाश बहादुर थापाबाट २ लाख २२ हजार २ सय २२, टोपबहादुर थापाबाट १ लाख ११ हजार १ सय ११, निरु रेग्मीबाट १ लाख ११ हजार १ सय ११ तथा लललित रौनियारबाट २५ हजार दान गर्ने घोषणा गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पंडित पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरिएको थियो ।


सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चानेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको जानकारी दिए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

उनका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक डा.कानोडियाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई

२३ कार्तिक २०८१, शुक्रबार १८:०४
खजुरा (बाँके) : पर्यावरण सम्बन्धी जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि हातपारेका छन । शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए । भने […]