चितवन : चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघ कै मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–६ प्रतापपुरमा भैसी गोठमा आक्रमण गर्न गएको बाघले भैंसी घाइते बनाएको र भैसीले प्रतिकार गर्दा ज्यान गएको लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोले जानकारी दिए ।
यस्तो घटना पहिलो भएको अध्यक्ष स्याङबोको भनाइ छ । उनले बाघ अत्यन्तै बुढो भएको हुदाँ भैसीको आक्रमणबाट मुत्यु भएको बताए ।
स्थानीय बलबहादुर राईको गोठमा आज बिहान ५ः१५ बजेको समयमा रहेको भैंसीलाई चितवन राष्ट्रिय निकुञ्जको बाघले आक्रमण गरेको थियो । भैंसीले प्रतिकार गर्ने क्रममा बाघको मृत्यु भएको स्थानीयले बताएका छन् ।
बाघको मुचुल्का गरेर सौराहा ल्याएको छ । स्याङबोका अनुसार बाघको शरिरमा चोट देखिएको छैन । भैंसीको शरीरभरी घाउ छ । गोठमा बाँधेको भैसीको आक्रमणबाट हो या अन्य कारणबाट बाघको मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।
बाघको थप पोष्टमार्टमका लागि सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको वन्यजन्तु अस्पतालमा ल्याईएको छ ।