राष्ट्रिय परिचयपत्र बनाउन आउनेका लागि हेल्थ डेस्क निर्माण

सदरलाइन संवाददाता १४ असार २०८१, बिहीबार २०:१४
 

नेपालगञ्ज :  सरकारले सामाजिक सुरक्षा भत्ता लिनको लागि अनिवार्य राष्ट्रिय परिचयपत्र पेश गर्नु पर्ने प्रावधान बनाएपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा राष्ट्रिय परिचय पत्र बनाउन आउने जेष्ठ नागरिक अशक्त असाहेको भिड लागेको छ ।

उखरमाउलो गर्मी त्यसमा पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिबार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा विहानैदेखि राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिकको भिड लाग्ने गरेको हो ।

धेरै सेवाग्राही र थोरै जनशक्तिले सेवा प्रवाह गर्दा भिड हुने गरेको र भिडका कारण दुई–तीन दिनसम्म लाग्ने गरेको सेवाग्राही गुनासो छ । नेपालगञ्ज–२० मनिकापुरका डिल्लीराम जैसीले दुईदिनदेखि राष्ट्रिय परिचयपत्रका लागि धाई रहेको बताए ।

उनले भने–‘ गर्मी असाध्यै छ विहानैदेखि लाईनमा छु । दुई दिन भयो कहिले हुन्छ थाहा छैन ।’ उनले राज्यले अनाहकमा आफुहरु जस्ता जेष्ठ नागरिकलाई दुख दिएको आरोप समेत लगाए । उनी त एक प्रतिनिधि पात्र मात्र हुन उनी जस्ता थुप्रै जेष्ठ नागरिकले उखरमाउलो गर्मीको बेलामा राष्ट्रिय परिचयपत्र बनाउने लाईनमा सास्ती खेप्दै आएका छन् ।

आउदो साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता पाउनेले अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेशगर्नु पर्ने प्रावधान लागू गरिएपछि बाँकेमा पनि सामाजिक सुरक्षा भत्तामा जोडिनु भएका सेवाग्राहीको बिहान ९ बजेदेखि साझ ७ बजेसम्म भिड लाग्ने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।


उनले राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीलाई कुनै समस्या नहोस भनेर स्वास्थ्य परिक्षणका लाग हेल्थ डेस्क तथा निशुल्क चिसो पानी बितरण लगायतका कार्य भई रहेको बताए ।

उनले भने–‘ हामीले सेवाग्राहीलाई समस्या नहोस भनेर आफ्नो क्षेत्रबाट सक्दो सहजिकरण गरेका छौ । तर पनि गर्मीका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकोेले हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परिक्षण र निशुल्क चिसो पानी वितरण लगायतको कार्य गर्दै आएका छौ ।’

आगामी आर्थिक वर्षको साउनदेखि सरकारले सामाजिक सुरक्षा भत्ताका लागि अनिबार्य राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था लागु गरेपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढेको हो ।

राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्रहीलाई नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाले हेल्थडेस्क स्थापना गरी उनीहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै बि–ग्रुप, मदनबाबा भक्ति केन्द्रलगायतले चिसो पिउने पानीको व्यवस्था गरेको छ । गर्मीमा बस्नको लागि पंखा, टेन्ट लगायतको व्यवस्था प्रहरीले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसइई नतिजाः गणितमा बढी अनुत्तीर्ण, यस्तो छ प्रदेशको नतिजा

१४ असार २०८१, बिहीबार २०:१४
  भक्तपुर :  राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा […]