बाँकेमा घाँसको बीउ उत्पादनमा घट्दै कृषकको आकर्षण

सदरलाइन संवाददाता २३ चैत्र २०८०, शुक्रबार १९:१९
 

 

खजुरा (बाँके) : बाँकेमा वर्षौंदेखि व्यावसायिक रूपमा घाँसको बीउ उत्पादन गर्दै आएका किसानहरूमा पछिल्लो समय यो पेसाप्रति आकर्षण घट्दैगएको पाइएको छ ।

वर्षौंदेखि घाँसको बीउ उत्पादन गर्दै आएका खजुरा गाउँपालिका –५ उढरापुरका धनीराम यादवले पछिल्लो समयमा गाउँका किसानले व्यवसायिक घाँसको बिउ उत्पादन गर्न छोड्दै गएको बताए । उनले किसानलाई कहिँकतैबाट पनि आवश्यक सहयोग नमिलेपछि किसानले घाँसको बीउ खेती गर्ने काम छाड्दैगएको गुनासो गरे ।

उनले हरियाली कृषक समूहमार्फत २०७० सालमा १८ जना किसानको समुहले व्यावसायिक रूपमा विभिन्न घाँसको बीउ उत्पादन गरी बिक्री वितरण गर्दै आए पनि हाल समूहमा जम्मा दुई जनाले मात्र बीउ उत्पादन गर्दै आएको जानकारी दिए ।

उनले भने–‘व्यावसायिक रूपमा घाँसको बीउ उत्पादन गरी बिक्री वितरण गर्न सुरुमा २०७० सालमा १८ जना किसान मिलेर समूहमार्फत ६०–७० बिघा जग्गामा बीउ उत्पादन गर्न खेती सुरु गरेका थियौँ, केही वर्षसम्म सामूहिक रूपमा खेती पनि गरेका हौ । तर, अहिले बिस्तारै सबैले छोड्दै जानुभयो, जम्मा दुई जनाले बीउ उत्पादन गर्दैआएका छौँ ।’


बीउ उत्पादन गर्ने किसानलाई आवश्यक पर्ने विद्युत, सिँचाइका लागि मोटर, औषधि, बीउ, मल, थ्रेसरलगायतका उपकरण कतैबाट कसैले सहयोग नगरेका कारण किसानले यो पेसा छाड्दै गएको उनको भनाई छ ।

हाल चार बिघा जग्गामा बर्सिम, जै तथा मकैचरी जातको घाँसको बीउ उत्पादन गर्दै आएका किसान यादवले यो पेसामा समस्या रहेको बताए । ‘घरको नजिक विद्युतको पोल छैन, टाढै रहेको पोलबाट आफ्नै खर्चमा काठका खम्बाहरू गाडेर बत्तीको व्यवस्था गरेको छु, चार बिघा जग्गामा सिँचाइका लागि जम्मा दुई इन्चको मोटर प्रयोग गरेको छु । आम्दानी भन्दा लगानी धेरैभएपछि कसरी काम गर्न मन लाग्छ ?’

उनले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई पनि आफ्ना समस्या राखेको जानकारी दिए । गाउँपालिकाबाट यो वर्ष दुई लाख रुपियाँ सहयोग भए पनि अत्यन्तै न्यून रहेको उनको भनाइ छ । पानी सिँचाइ गर्न ठुलो मोटर समरसेल तथा खेती काट्नका लागि थ्रेसर मेसिनलगायतको आवश्यकता रहेको उनले बताए ।

१८ जनाबाट सुरु गरेको समूहमा गत वर्षसम्म ७ जनाले खेती गर्दै आए पनि यो वर्ष जम्मा दुई जनाले मात्र खेती गरेका छन । ‘खेतीबाट आम्दानी त राम्रै छ, उत्पादन भएको बीउ पनि बिक्री गर्न समस्या परेको छैन, तर बत्ती, सिँचाइलगायत आवश्यक सामग्री र समयमै मल नपाउँदा भने धेरै गाह्रो हुन्छ’–उनले भने ।

‘स्थानीय सरकारले हामीजस्ता किसानलाई समय समयमा आवश्यक तालिम, उपकरण तथा आवश्यक सामग्रीको व्यवस्था गरिदिनुपर्छ, किन यो पेसाप्रति किसानहरूको आकर्षण घट्दै गएको छ ? किन सबैले यो पेसा छोडिरहेका छन् त्यो समस्याको पहिचान गरी समाधान गर्नुपर्छ’– उनले भने–‘किसानलाई प्रोत्साहन गरी पुनः यो पेसामा ल्याउन स्थानीय सरकारले पहल गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

२३ चैत्र २०८०, शुक्रबार १९:१९
दाङ्ग :  लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा एमाओवादी केन्द्रका प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन । प्रदेश प्रमुख शेरचनले माओबादी केन्द्र लुम्बिनी […]

सम्बन्धित