खजुरास्थित सैनिक खेल मैदानमा खुला प्यारापिट बनाइने

सदरलाइन संवाददाता २७ फाल्गुन २०८०, आईतवार १७:३३
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य शुरु भएको छ ।

मैटहवा माविको खेल मैदानमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा करिब चार सय दर्शक क्षमता रहेको प्यारापिट बन्न लागेको हो । उक्त प्यारापिट निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले ४० लाख र स्थानीय स्रोतबाट चार लाख रुपैयाँ खर्च गरेर प्यारापिट निर्माण हुँदैछ ।

लुम्बिनी प्रदेश सभा सदस्य एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले प्यारापिटको जगको शिलान्यास गरेसँगै निर्माण कार्य अगाडी बढेको छ । प्यारापिट निर्माणसँगै खजुरा गाउँपालिकाको सैनिक क्षेत्रमा फुटबल खेलका गतिविधि आयोजनामा सहज हुने स्थानीयहरुको विश्वास रहेको छ । सैनिकमा रहेको जय किसान स्पोर्टस क्लबले यहाँ फुटबलका गतिविधिहरु आयोजना गर्दै आएको छ ।

खजुरा–१ स्थित मैटहना माविको खेल मैदानमा सुरुआती चरणमा पुर्व तर्फ प्यारापिट निर्माण गरिदैँछ । निसान विल्डर्सले उक्त योजना निर्माणको ठेक्का पाएको छ । ४४ लाख रुपैयाँ बजेटमा पहिलो चरणको काम हुन लागेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनीवर क्षेत्रीले बताए । प्यारापिटको सम्पुर्ण कार्य सम्पन्न गर्नका लागि करिब दुई करोड ५० लाख रुपैयाँ खर्च हुने उनले बताए ।

सैनिकका जनताको भावना अनुरुप प्यारापिट निर्माणको लागि बजेट व्यवस्थापन गरिएको लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले बताए । उनले भने, ‘‘मैले शिलान्यास गरेको छु । यस योजनाको बाँकी काम दुई वर्षमै सम्पन्न गर्ने विश्वास दिलाउन चाहन्छु । गाउँ विकास हुन त्यहाँको हरेक क्षेत्रको विकास हुनु जरुरी छ । युवाहरुलाई स्वस्थ बनाउन खेलकुद अति आवश्यक छ । सैनिक क्षेत्रमा खेलकुदमा धेरै आर्कषण छ । त्यो कुरालाई ध्यानमा राखेर हामीले बजेट बिनियोजन गरेका हौँ ।’’


खजुरा सैनिकमा हरेक वर्ष पुर्व राष्ट्रिय खेलाडी श्याम थापा स्मृति कप फुटबल प्रतियोगिता हुने गरेको छ । प्रतियोगिताको दौरान दर्शकलाई बस्न निकै कठिन हुने गरेको थियो । अब फुटबल प्रतियोगिता हुँदा दर्शकहरुलाई सहज रुपमा खेल हेर्न मिल्नेछ । मैटहवामा प्यारापिट निर्माणमा सक्रिय भएर लागेका वडा नम्बर–१ का अध्यक्ष मनवीर क्षेत्रले प्रदेश सभासद कुर्मीलाई धन्यवाद दिदैं बाँकी कामको लागि आगामी वर्षमा बजेट बिनियोजन गर्न आग्रह गरे ।

उनले भने, ‘‘सैनिक फुटबलले चिनिएको गाउँ पनि हो । यहाँबाट थुप्रै प्रतिभाशाली खेलाडी जन्मिसक्नु भएको छ । तर यहाँ एउटा गतिलो रंगशाला छैन । मैटहवा माविमै भएको मैदानलाइ हामीले मिनि रंगशालाको रुपमा विकास गर्ने योजना बनाएको छौं । त्यसमा सबैको साथ र सहयोगको आवश्यकता छ ।’’

योजना निर्माणको ठेक्का पाएको कम्पनी निसान बिल्डर्स प्रमुख मुकेश खड्काले करिब चार महिना पुर्वाधार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित काम अगाडी बढाएको बताए ।

मैटहवा माविको खेल मैदानमा प्यारापिट निर्माणमा सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक शिव शंकर रोकाय क्षेत्रीले प्रदेश सभा सदस्य कुर्मीलाई धन्यवाद दिदैं विद्यालयको अन्य भौतिक पुर्वाधारको स्तर उन्नतीमा सहयोगको अपेक्षा गरेको बताए ।

सैनिकमा निर्माण हुन लागेको प्यारापिट सहितको खेल मैदान तेस्रो हो । यसअघि खजुराको डि गाउँको खेल मैदान र शुक्र भलिबल रंगशालामा प्यारापिट निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठ वटै पालिकामा काँग्रेस बाँकेको ‘प्रशिक्षण’

२७ फाल्गुन २०८०, आईतवार १७:३३
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले जिल्लाका आठ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको छ । पहिलो […]