नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । सहकारी संस्थाका व्यवस्थापक तथा सञ्चालकका लागि तालिम आयोजना गरिएको हो ।
तीन दिने कार्यशालाको नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले उदघाटन गरे । उदघाटन कार्यक्रममा नेतृत्व तथा व्यवस्थापन विकास प्रशिक्षक शिवप्रसाद भुषाल, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय लगायतको उपस्थिति थियो ।
त्यसक्रममा बोल्दै समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष पुनले कुनै पनि संस्थालाई असल तरिकाले हाँक्नका लागि कुशल नेतृत्व र ब्यवस्थापकको खाँचो पर्ने भन्दै यो तालिम पश्चात सहकारीको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
तालिममा नेतृत्व तथा व्यवस्थापन विकास विज्ञ शिवप्रसाद भुषाल, सहकारी शाखा प्रमुख प्रविण राना र जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले प्रशिक्षण दिने सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् । सहकारी शाखाले यसअघि तीन दिने सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम पनि सञ्चालन गरेको थियो । सहकारी संघसंस्थाहरुका सञ्चालक र व्यवस्थापनका अधिकारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन, प्रवर्द्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको शाखा प्रमुख रानाले बताए ।