लुम्बिनी प्रदेशमा गठबन्धनको बहुमत

सदरलाइन संवाददाता २७ फाल्गुन २०८०, आईतवार १३:३५
 

नेपालगञ्ज : संघीय सरकारमा गठबन्धनमा परिवर्तनसँगै लुम्बिनीमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने भएको छ । प्रदेशसभमा रहेका ८६ प्रदेश सभा सदस्य मध्ये एमाले, माओवादी गठबन्धनको सरकार बन्ने गणतिय समिकरणले देखाएको छ । जम्मा प्रदेश सभा सदस्यको बहुमत ४४ जना आवश्यक पर्ने भएपनि एकजना स्वतन्त्र सहित ४५ जना प्रदेशसभा सदस्य गठबन्धनको पक्षमा रहेकाले एमाले माओवादी सहितको गठबन्धनको सरकार बन्ने पक्कापक्की नै छ ।

गठबन्धनको पक्षमा नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका तीन नेकपा एकिकृत समाजवादी एक र एकजना स्वतन्त्र गरी आवश्यक सङ्ख्या ४५ पुग्ने भएकाले गठबन्धनकै सरकार बन्ने देखिएको हो ।

यता प्रतिनिधीसभा संसदमा प्रतिपक्षको बेन्चमा बसेका दलहरु मध्ये लुम्बिनी प्रदेशसभाको कांग्रेसका २७, लोसपा, जनमत र राप्रपाका तीन–तीन सांसद छन् भने राजमोका एक–एक सांसद छन् । जनमत पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले नयाँ गठबन्धन बनेपछि के गर्ने भन्नेबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएकाले अलमल परेको बताए ।

उनले भने, “नयाँ बन्ने समीकरणमा हामी कसरी सहभागी हुने, हुने कि नहुने भन्ने बारेमा केन्द्रको निर्णय पर्खिएका छौं, सरकारमा जाने, नजानेबारे निर्णय भएको छैन ।“ नागरिक उन्मुक्तिकी सचेतक नरमाया ढकालले केन्द्रबाट अझै निर्णय नआएकाले लुम्बिनीमा प्रष्ट हुन नसकिएको बताइन् । नागरिक उन्मुक्ति पार्टीका चारजना प्रदेशसभा सदस्य छन् ।


नागरिक उन्मुत्तीको आन्तरिक विवाद र सुदूरपश्चिम सरकारको नेतृत्व दावीका कारण उसको अहिले प्रतिपक्ष वा सत्तापक्षीय बेन्चमा बस्ने भन्नेमा अलमल देखिन्छ । यद्यपी नागरिक उन्मुक्तीले अहिले लुम्बिनी सरकारमा तत्काल सहभागि नहुने बताएको छ । गठबन्धन दल एमाले–माओवादीले भने साना दललाई फकाउन कसरत गर्दै मुख्यमन्त्रीमा आ–आफ्नै दाबी गरिरहेका छन् ।

नयाँ राजनीतिक समीकरण फेरिएर एमाले–माओवादीले सरकार बनाउने अवस्था लुम्बिनी प्रदेशमा आइपुगेको छ । आलोपालो गर्दा पहिला माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा छ भने एमालेले स्वतः यसपालि सरकारको नेतृत्व पाउनुपर्ने अवस्था रहेको बताउने गरेको छ ।

प्रदेशको ठुलो दलका हिसाबले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने एमाले नेताहरूले बताएका छन् । पहिलो पटक आफ्नो नेतृत्वमा बनेको सरकारले काम गर्न नपाएको र प्रदेशको ठूलो दलका हिसाबले आफ्नो पार्टीले सरकारको नेतृत्वका लागि दाबी गर्ने एमाले संसदीय दलका लिला गिरीले बताए । उनले भने, “यद्यपि हामीले प्रदेशमा दाबी गरेर मात्र हुँदैन, केन्द्रीय राजनीतिमा जे निर्णय हुन्छ, त्यही लागु हुन्छ ।“ एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आए मुख्यमन्त्री लीला गिरी बन्ने छन् ।

माओवादी संसदीय दलका जोखबहादुर महरा पनि प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताए । उनले भने, “यसअघि एमाले र कांग्रेसलाई सहयोग ग¥यौं, अब बन्ने नयाँ सरकारको नेतृत्व हाम्रो पार्टीले गर्छ र पालो पनि हाम्रो हो ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरास्थित सैनिक खेल मैदानमा खुला प्यारापिट बनाइने

२७ फाल्गुन २०८०, आईतवार १३:३५
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य शुरु भएको छ । मैटहवा माविको खेल मैदानमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा करिब चार सय दर्शक क्षमता रहेको प्यारापिट बन्न लागेको हो । उक्त प्यारापिट निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले ४० लाख र स्थानीय स्रोतबाट चार […]