सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा निर्माणको क्रममा रहेको सिक्टा सिंचाई आयोजनाले पछिल्लो दिनमा निक्कै चर्चा बटुलेको छ । चर्चा बटुल्नुको कारण आयोजना र निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीबीचको आरोप प्रत्यारोप हो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिंचाइ आयोजना निर्माणमा एकपछि अर्को अनियमिता बाहिर आउन थालेपछि सिक्टाले आफ्नो गैरजिम्मेवारी लुकाउन ठेक्काको सम्झौता विपरीत ठेकेदारसँगको सम्झौता तोडेको सूचना निकालेकोे छ । भने ठेकेदार कम्पनीले त्यो सूचना अगावै ठेक्का तोडेको दाबी गरेको छ ।
सिक्टा योजनाको डुंडुवा नहर निर्माणको जिम्मा लिएको कोस्टल पप्पु जेभीसँग भएको सम्झौताविपरीत आयोजनाले ठेक्का तोडेको सूचना निकालेको थियो । सो निर्माण कम्पनीले विज्ञप्ति निकालेर २० जुन २०१६ मा ८४० दिन (०८ अक्टुबर २०१८) भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा आयोजनाले आफ्नो दायित्व पूरा नगरी उल्टै सम्झौता तोड्ने काम गरेको आरोप लगाएको छ ।
यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले पप्पु कन्स्ट्रसनको पक्ष लिदै सरकारले प्राकृतिक न्याय सिद्धान्तविरुद्ध कदम चालेको आरोप लगाएको छ । महासंघका महासचिव रोशन दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै स्पष्टिकरणको मौका नै नदिई एकपछि अर्को कदम अघि बढाएको उल्लेख छ ।
आयोजना आफैले व्यवसायीको निर्माण क्षेत्रमा शान्तिपूर्ण कार्य गर्ने वातावरण खल्वल्याएको आरोप लगाउँदै घोर भत्र्सना गरेको समेत जनाएको छ । कन्स्ट्रक्सनले अघि बढाएका विभिन्न क्षेत्रका आयोजनाका विषयलाई लिएर अर्वौको ठेक्का लिएका कार्य अलपत्र परेको उल्लेख छ । सरकार हठात बलाठ् रुपमा अघि बढेको आरोप लगाउँदै त्यस्तो कार्य तत्काल सच्याउन समेत आग्रह गरिएको छ ।