निर्देशनालय खारेजीले आयोजना कार्यान्वयनमा अन्योल

सदरलाइन संवाददाता २४ माघ २०८०, बुधबार १५:१५
 

सुर्खेत : कर्णाली प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि निर्देशनालयअन्तर्गतका योजना कार्यान्वयनमा अन्योल सिर्जना भएको छ ।

सरकारले निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ । उक्त नियमावली प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । निर्देशनालय खारेज भएसँगै दर्जनौं योजना कार्यान्वयनमा चुनौती देखिएको छ भने कानुनी जटिलता निम्तिने अवस्था सिर्जना भएको बताइएको छ ।

आउँदो चैतमा हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा कानुनी अड्चन आउने शिक्षाविदको भनाइ छ । शिक्षा ऐन २०२८ (नवौं संशोधन, २०७४) को दफा ४ ‘ट’ मा एसईई क्षेत्रीयस्तरमा सञ्चालन हुने उल्लेख छ । उक्त परीक्षा सञ्चालनसम्बन्धी काम, कर्तव्य र अधिकार शिक्षा विकास निर्देशनालयलाई रहेको छ ।

निर्देशनालय नै खारेज भएपछि उक्त परीक्षा सञ्चालन तथा व्यवस्थापन कुन कानुनबमोजिम गर्ने भन्ने अन्योल निम्तिएको छ । एक प्रतिनिधिका अनुसार निर्देशनालय स्रोतकाअनुसार अन्य निकायबाट सञ्चालन गर्नु संघीय ऐनविपरित हुन जान्छ ।

यो वर्षको एसईई चैत १५ गतेदेखि सञ्चालन हुने तयारी छ । त्यसका लागि उत्तरपुस्तिका छपाइ गरी दशवटै जिल्लामा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । कार्यालय खारेज भएसँगै सो काम रोकिएको छ । परीक्षाका खाताहरू निर्देशनालयमा राखिएको, जिल्ला–जिल्लामा परीक्षा सञ्चालनका लागि बजेट पठाउने काम रोकिएको र उत्तरपुस्तिका छपाइको काम प्रभावित बनेको हो ।

यस्तै, सबै जिल्लाका एसएलसी र एसईई प्रमाणपत्रको नाम, थर, जन्ममिति संशोधन तथा ग्रेडसिट, मार्कसिट, मूल प्रमाणपत्रको प्रतिलिपिको कामसमेत रोकिएको छ । निर्देशनालयबाट प्रत्येक वर्ष करिब तीन हजार विद्यार्थीले सो सेवा लिने गरेका थिए ।

एसईई परीक्षाको जिम्मेवारी संघीय कानुनले शिक्षा विकास निर्देशनालयलाई दिइएको छ । संघीय सरकारले सशक्त बनाएको निर्देशनालयलाई प्रदेश सरकारले खारेज गरेपछि समस्या उत्पन्न भएको छ ।


हाल निर्देशनालयले दश वटै जिल्लामा उत्तरपुस्तिकाको व्यवस्थापन, एसईई परीक्षाको आवेदन फाराम छपाइ र वितरण, रजिष्टे«शन फाराम छपाइ र वितरण, परीक्षाको केन्द्र निर्धारण, एसईई परीक्षाको खर्च व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण–सम्परीक्षण र परीक्षा अनुगमनलगायत व्यवस्थापकीय जिम्मेवारी बहन गरिरहेको थियो । कार्यालय खारेज भएसँगै ती काम प्रभावित बनेका छन् ।

निर्देशनालय खारेज भएसँगै शिक्षक सेवा आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्तालगायतका काम पनि प्रभावित बनेका छन् । गत आर्थिक वर्षमा निर्देशनालयले सञ्चालन गरेको शिक्षक सेवा आयोगको निमावि तहको अन्तर्वार्ता, मावि र निमाविको स्थायी नियुक्ति तथा पदस्थापनाको काम गरेको थियो ।

यस वर्ष मावि तह तृतीय क्षेणीका लागि दश वटै जिल्लामा विषयगत ७२ जना शिक्षकको नियुक्ति तथा पदस्थापना गरी पठाइएको छ । हाल निमावि तहको अन्तर्वार्ता सम्पन्न भएको छ । प्रदेशका दश वटै जिल्लाका विषयगत ८७ जना शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापनाको कामसमेत अन्योलमा छ ।

निर्देशनालयले कर्णाली प्रदेशभरीका शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारामको काम गर्नेगरेको थियो । सो कामसमेत प्रभावित बनेको जनाइएको छ । बढुवा सिफारिसको काम रोकिएको छ । प्रदेशभरिका मावि, निमावि, प्राविगरी तीन हजार दुई सय ८५ जना शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवासम्बन्धी काम अन्योलमा परेको छ ।

उल्लेखित काम शिक्षक सेवा आयोग नियमावली र कार्य सञ्चालन कार्यविधिबमोजिम हुनेगर्छ । जसको कार्यान्वयन शिक्षा विकास निर्देशनालयले गर्ने कानुनी व्यवस्था छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्देशक सदस्य र निर्देशनालयको आयोगसम्बन्धी कार्य हेर्ने अधिकृत सदस्य सचिव रहने परीक्षा समन्वय समिति रहने व्यवस्था छ । निर्देशनालय खारेजीले थुप्रै जटिलता उत्पन्न हुने त्यहाँ कार्यरत कर्मचारीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टुर दी ठाकुरद्वाराको छैठौं संस्करण हुने

२४ माघ २०८०, बुधबार १५:१५
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा टुर दी ठाकुरद्वारा छैठौं संस्करण साइकल महोत्सव गर्ने भएको छ । साइकल पर्यटनमार्फत देश विदेशका पर्यटकहरुलाई बाँके र बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको भ्रमण गराउने उद्देश्यले साइकल यात्रा गर्ने भएको क्लबका सचिव इन्द्र गिरी बताउँछन् । संस्कृति, प्रकृति, पर्यटन, प्रयावरण र खेलकुद’ […]