सदरलाइनडटकम,
नेपालगञ्ज : तीन महिनाअघि नेपालगञ्जमा भेटिएको चाँदीको शिवको मुर्ति चोरी भएको छ । मन्दिरका पुजारी परिवार राती १ बजेसम्म जागेपनि स्थानीयका अनुसार मंगलवार बिहान ३ बजे मुर्ति चोरी भएको हो ।
नेपालगञ्ज वडा नं. ७ स्थित मन्दिर छेउमा बाटो बनाउने क्रममा फेला परेको चाँदीको मुर्ति एक्कासी हराएको रामजानकी मन्दिर व्यवस्थापन समितिका संयोजक बिनोद कश्यपले जानकारी दिए । उक्त मुर्ति रामजानकी मन्दिरमा स्थापना गरिएको थियो ।
सो बेला वडा नं. १३ का एक व्यक्तिले मुर्ति आफ्नो भनेर दावी गरेपछि व्यवस्थापन समिति र दावीवालाको सहमतिमा मन्दिरमा स्थापना गरिएको थियो । मन्दिरमा सहजै छिर्नसक्ने कुनै बाटो नभएकाले चोरीको घट्ना रहस्यमय बनेको छ ।
समितिका सल्लाहकार हर्कबहादुर गुरूङले चोरी हुने कुनै बाटो नदेखिएकाले रहस्यमय भएको बताए । प्रहरीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान गर्दा चोरी हुनसक्ने आधार नदेखिएको जनाएको छ ।
