समुदायमा जलन व्यवस्थापन तालिम

सदरलाइन संवाददाता २० माघ २०८०, शनिबार १४:१२
 

नेपालगञ्ज : गत केही समययता बाँकेका नेपालगञ्ज लगायत दुर्गम ठाउँहरूमा समेत अत्यधिक चिसो बढेकाले आगो ताप्ने क्रममा लापरबाही गर्दा स्थानीय बासिन्दा जलेर घाइते हुने क्रम बढेको छ ।

यस वर्ष मात्रै हालसम्म १० जना जति सर्वसाधारणले आगो ताप्ने क्रममा गरेको सामान्य असावधानीले गर्दा जलेको भेरी अस्पतालले जनाएको छ ।

चिसोबाट जोगिन आगो ताप्ने क्रममा वृद्धवृद्धा र बालबालिका जलनमा पर्ने क्रम बढ्दै गएपछि समुदायस्तरमै सचेतना फैलाउन सुरु गरिएको जनाइएको छ ।

जलनमा परेर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या बढ्दै गएपछि जलनबाट बच्ने उपायहरूका बारेमा अस्तित्व नेपाल नामक गैरसरकारी संस्थाले समुदायस्तरमै सचेतना फैलाउन सुरु गरेको छ ।

संस्थाले बाँकेको पिछडिएको मानिने नरैनापुर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि जलन व्यवस्थापन तालिम सञ्चालन गरेको छ ।


तालिमका सहभागी स्वास्थ्यकर्मीहरूलाई भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ जनरल सर्जन डा. हरिहर देवकोटाले प्रशिक्षण दिएका छन् ।

सो तालिममा जलनबाट बच्ने उपायका साथै जलन भएका बिरामीहरूको उपचार कसरी गर्ने भन्ने सम्बन्धमा प्रशिक्षक डा. देवकोटा र नरैनापुर गाउँपालिकाका २० जना स्वास्थ्यकर्मीहरूका बिच अन्तरक्रिया पनि गरिएको थियो ।

उक्त अन्तरक्रियामा नाइलन र पोलिस्टरका कपडा जलनका दृष्टिले धेरै जोखिम हुने भएकाले आगो ताप्दा सुती कपडा लगाउनु उपयुक्त हुने, सावधानी अपनाउँदा अपनाउँदै जलन भई हालेमा दौडन नहुने र जलन भएको बेला दौडँदा आगो शरीरभरि फैलिएर शरीरको भित्री भागमा गहिरो चोट हुने जोखिम रहनेबारे जानकारी दिइएको थियो ।

जलन भएपछि जलन भएको ठाउँमा कम्तीमा २० मिनेटसम्म चिसोपानीले निरन्तर पखाली दिनुपर्ने प्रशिक्षक डा. देवकोटाको भनाइ छ । चिसो पानीमा भिजाएको सुती कपडाले जलन भएको ठाउँलाई छोपेर अस्पताल पु¥याउँदा जलनबाट हुने घाउलाई धेरै हदसम्म कम गर्न सकिने जलनका बिरामीको उपचारमा संलग्न वरिष्ठ सर्जन डा. देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरकारी बेचेर पढाइ खर्च जुटाउँदै निडर

२० माघ २०८०, शनिबार १४:१२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उनी घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुुन्छन् । तरकारी ठेलामा मिलाइ सकेपछि उनी घरबाट ठेलामा राखेको तरकारी लिएर बिक्री गर्न […]