बिद्युतको बक्यौता नबुझाउनेलाई कालोसूचीमा राखिँदै

सदरलाइन संवाददाता १९ माघ २०८०, शुक्रबार १७:१९
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न शुरु गरेको छ ।

लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख राजीव सिंहले लाइन काटिएको ६ महिनासम्म पनि विद्युत महशुलको बाँकी बक्यौता रकम बुझाउन नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरिएको बताए ।

‘विद्युत उपभोग गरेवापतको महशुल रकम नबुझाइ विगत ६ महिनादेखि लाइन काटिएका ग्राहकको मिटर झिक्ने काम सुरु गरेका छौं’ उनले भने, ‘त्यस्ता ग्राहकको मिटर झिकेर कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउँछौं ।’

डिभिजन कार्यालयका लेखा प्रमुख केशरबहादुर ठाडाले डिभिजन कार्यालय अन्तर्गतका विभिन्न विद्युत वितरण केन्द्रबाट यो आर्थिक बर्षको साउनदेखि हालसम्म विद्युत महसुल नबुझाउने ९ हजार बढी सेवाग्राहीको लाइन काटिएको बताए ।


लेखा प्रमुख ठाडाका अनुसार यो आर्थिक बर्षको साउनदेखि हालसम्म ९ हजार ३ सय ७८ जना महशुल नबुझाउने ग्राहकको लाइन काटिएको हो । सो संख्याका ग्राहकबाट १७ करोड ७१ लाख रुपियाँ विद्युत महशुल उठ्न बाँकी रहेको थियो । लाइन काटिएकामध्ये ८ हजार १ सय ६० जना ग्राहकहरुले पुनः लाइन जडान गरेको उनले जानकारी दिए । ८ हजार १ सय ६० जना ग्राहकबाट १२ करोड ४९ लाख बाँकी बक्यौता महशुल रकम उठेको लेखा प्रमुख ठाडाले बताए ।

अझै करिब १२ सय सेवाग्राहीले लाइन जडान नगरेको डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालयले १२ सय ग्राहकमध्ये लाइन काटिएको ६ महिना बढी समय भएका ग्राहकको पहिचान गरी मिटर बक्स झिक्ने र कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरेको छ ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व गरी ६ वटा जिल्लाका नेपालगञ्ज वितरण केन्द्र, गुलरिया वितरण केन्द्र, घोराही वितरण केन्द्र, कोहलपुर वितरण केन्द्र, राजापुर वितरण केन्द्र, लमही वितरण केन्द्र, तुलसीपुर वितरण केन्द्र, प्युठान वितरण केन्द्र, रुकुमपूर्व वितरण केन्द्र, रोल्पा वितरण वितरण केन्द्र गरी १० केन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज पुग्न जहाजको भन्दा गाडीको भाडा महँगो

१९ माघ २०८०, शुक्रबार १७:१९
नेपालगञ्ज : माथिल्लो हुम्लाका स्थानीयवासीहरूले हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता रहेको पाइएको छ । पैदल मार्गबाट यातायात व्यवसायीहरूले मनोमानी भाडा असुल्ने भएको कारण सस्तो पर्नु पर्ने पैदल मार्गको भाडा महँगो गर्ने गरेको हो । नेपालगञ्ज झर्नु पर्ने लोकसेवा आयोगको परीक्षाको तयारी गरी रहेका परीक्षार्थी दीपक […]