नेपालगञ्ज : सुर्खेतका होमनाथ योगी बाँकेका नौजना युवासँग पैसा लिएर फरार भएका छन् ।
दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति दुई लाखदेखि दुई लाख पचास हजार रुपैयाँसम्म लिएका योगी सम्पर्कविहीन भएपछि खजुरा गाउँपालिका वडा नं. ४, ईगाउँका नौ जना रन्थनिएका छन् । योगीले दुबईको बलदिया कम्पनीमा पठाइदिने भन्दै पैसा लिएका थिए ।
अमरबहादुर बुढामगर र गोपालबहादुर पुनमगरले पैसा लिएको केही दिनपछि योगी सम्पर्कविहीन भएको बताए ।
नेपालगञ्जमा पत्रकार खोज्दै आएका अमरबहादुर र गोपालबहादुरले दुबई पठाइदिने भनेर काठमाडौं बोलाएर योगीले एक महिनासम्म काठमाडौंमा बसाइ अरू पैसा खर्च गराएको बताए ।
‘भिसा आयो भनेर हामीलाई काठमाडौं बोलायो । हामी गयौं । खजुराका नौजना र अन्य ठाउँका गरी १३ जना थियौं । हामीलाई उसले नक्कली भिसा थमायो । हामीले त्यो थाहा पायौं । त्यसपछि योगी फरार भयो,’ अमर र गोपालले भने, हामीले उसलाई खोजेको खोज्यै छौं । फेला पार्न सकेका छैनौं ।’
अमर र गोपालले तीन रुपैयाँ ब्याजमा पैसा ऋण लिएर योगी बुझाएका थिए । ऋण तिर्न हम्मेहम्मे परेको छ । लामो समयदेखि उनीहरूले योगीलाई खोजिरहेका छन् ।
योगीले दिएको मोबाइल नम्बर स्वीचअफ छ । सबै जनाले योगीको नाममा बैंकबाट पैसा पठाएका छन् । पैसा पठाएको प्रमाण भएपनि व्यक्ति नभेटिएपछि उनीहरू रन्थनिएका छन् ।