नेपालगञ्जमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु

सदरलाइन संवाददाता ११ माघ २०८०, बिहीबार १४:२७
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदमा अधिकार प्रत्यायोजित हुन नसक्दा प्रदेश, जिल्ला र स्थानीयतहमा खेल गतिविधि हुन नसकेको गुनासो गर्दै संघियताको मर्म अनुरुप राष्ट्रिय खेलकुद परिषदले अधिकार प्रत्यायोजित गर्नुपर्ने जिकिर गरेका छन ।

उनले बिहीबार प्रथम नेपालगञ्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गर्दै सो जिकिर गरेका हुन । ‘आज संघियता कार्यान्वयन भएको ८ वर्ष भयो खेलकुद परिषद पुरानै ढर्रामा छ । अधिकार प्रत्योजित हुन नसक्दा भएका खेलसंरचना खण्डहर हुने अवस्थामा पुगेका छन्’–उनले भने–‘यसैको कारण खेलगतिविधि समेत हुन सकेको छैन ।’

करिव २५ वर्षपछि नेपालगञ्जमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुनलागेको हो । नेपालगञ्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले जानकारी दिए । उनले सो प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको जानकारी दिए ।

प्रतियोगितामा अम्पायर ११ जना, लाइनजज २५ जना, म्याच रेफ्री २ जना र प्राबिधिक निर्देशक १ जना सहभागी भएको पनि थापाले बताए । यही माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।


प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघले जनाएको छ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुने दुई जनाले १५÷१५ हजार पाउनेछन ।

महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १५÷१५ हजार प्राप्त गर्नेछन । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउँनेछन ।

यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/ १० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

पछिल्ला वर्षहरुमा खेलाडीको उपस्थिती कम हुदै गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको यो प्रतियोगिता आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष मिनबहादुर मल्लले बताए । प्रतियोगिताका लागि लुम्बिनी प्रदेश खेलकुद परिषदले आर्थिक सहयोग गरेको कार्यक्रमको संचालन संचारकर्मी ओविराज आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा मिनीबस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु

११ माघ २०८०, बिहीबार १४:२७
नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीवार बिहान अन्दाजी बिहान ७ बजेको समयमा नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुरस्थित आपसमा ठोक्किएको थियो । उक्त […]