उपचार गराउन भारत गएका युवक आठ दिनपछि भेटिए

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १८:२२
 

नेपालगञ्ज : भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीको सहयोगबाट ती युवकको भारत जरवलरोडबाट आठ दिनपछि उद्धार गरिएको युवकका आफन्तले जनाएका छन् ।
भारतको लखनउस्थित राम मनोहर लोहिया अस्पतालमा दाङ ढिकपुर –४ निवासी प्रकाश मल्लको उपचार भइरहेकाले उनको कुरुवा बस्नु भएका मल्लका भतिज ३८ वर्षीय ईश्वर शाह पुस २७ गते साँझबाट हराएका थिए ।

उपचारका क्रममा प्रकाश मल्लको पुस २७ गते साँझ निधन भएपछि शोकले विक्षिप्त भई बेपत्ता भएका शाहलाई भारतीय प्रहरीको सहयोगमा भारतको जरवलरोडमा फेला पारेर नेपाल ल्याइएको शाहकी दिदी तथा समाजसेवी माधवी शाहले बताइन् ।

उनले भाइ हराएपछि उनको खोजी गर्दा लखनउमा नभेटिएकाले खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा र भारतको रुपईडिहा प्रहरी थानामा निवेदन दिइएको बताइन् ।


नेपाल प्रहरीका एसएसपी सुशिलसिंह राठौर, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, जमुनाहा नाकाका प्रमुख नवीन रिजाल, असई कुलबहादुर विक र भारत रुपैडिहा थानाका प्रमुख शमशेर सिंहको सहयोगले आफ्नो भाइ सकुशल फेला परेको समाजसेवी शाहले बताइन् ।

उनका अनुसार भारतीय प्रहरी रजनिश सिंहले उनलाई फेला पारेर करमुल्लापुर जरवलरोडस्थित आफ्नो निवासमा राखेका थिए । रुपैडिहा प्रहरीले रुपैडिहादेखि लखनउसम्मको राजमार्गमा पर्ने सबै प्रहरी युनिटलाई हराएका युवकबारे जानकारी गराएको हुँदा उद्धार सहज भएको उनको भनाइ छ ।

उद्धार गरेर नेपालगञ्ज ल्याएपछि शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका लागि शाहलाई भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले लखनउबाट शाह हराएकाले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा आफन्तको निवेदन परेपछि जमुनाहा नाकामार्फत रुपईडिहा प्रहरीसँग खोजीका लागि आग्रह गरिएकोमा भारतीय प्रहरीको सहयोगले फेला पारिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विज्ञान शिक्षक समाज नेपाल बाँकेमा यमनारायण

६ माघ २०८०, शनिबार १८:२२
कोहलपुर (बाँके) : विज्ञान शिक्षक समाज नेपाल बाँकेको प्रथम जिल्ला भेलाले यम नारायण धितालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्बसम्मत रूपमा चयन भएको छ । विज्ञान शिक्षक समाज नेपाल बाँकेका संयोजक धनबहादुर परियारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य यमनाथ पौडेल रहेको भेलाले […]