माघीका अवसरमा बाँकेको विभिन्न ठाउँमा मेला

सदरलाइन संवाददाता १ माघ २०८०, सोमबार १५:१८
 

नेपालगञ्ज : थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ ।

बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र भारतबाट भक्तजन यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिए । “यो मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको प्रचारप्रसारका लागि मेला आयोजना गर्ने गरेका छौँ”, उनले भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको भन्दै पुर्खौंदेखि लाग्दै आएको मेलाले यस क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक एवं धार्मिक धरोहर रहेको भन्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।


विसं २०१३ मा स्थापना भएको उक्त मन्दिरमा वर्षमा तीनपटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मेला आयोजक समितिले जनाएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति हुने गरेको छ ।

माघी पर्वका अवसरमा थारू गाउँमा हर्षोल्लासका साथ मनोरञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुग्ने थारू अगुवा बडघर केवलसिंह थारूले बताए । उनका अनुसार थारू समुदायमा माघी पर्वको छुट्टै रौनकता छ । नयाँ वर्षका रुपमा लिइने माघीले थारू समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पौडेल वंश महासंघको नेतृत्वमा हरिराम पौडेल

१ माघ २०८०, सोमबार १५:१८
कोहलपुर (बाँके) : पौडेल वंश महासंघ नेपालको दोस्रो रास्ट्रिय सम्मेलनबाट हरिराम पौडेल अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति निर्विरोध रुपमा गठन भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शालिकराम पौडेल, उपाध्यक्ष विजय पौडेल, महिला उपाध्यक्ष जमुना पौडेल, प्रदेश उपाध्यक्षहरुमा कमल पौडेल कोशी, गोविन्द पौडेल मधेस, दीपकप्रसाद पौडेल वाग्मती, शारदा पौडेल गण्डकी, शालिकराम […]