महिना पुग्दा पनि सकिएन अनुसन्धान

सदरलाइन संवाददाता २७ पुष २०८०, शुक्रबार १४:४६
 

नेपालगञ्ज : गत मंसिर २९ गते सशस्त्र प्रहरीले नेपालगञ्जको न्यूरोडमा भन्सारबाट पास भएर आएको सामान सहितको ट्रक राजश्व चुहावटको आशंकामा नियन्त्रणमा लियो ।

उक्त ट्रक नियन्त्रणमा लिने क्रममा सडकमै उद्योगी, व्यवसायी र प्रहरीबिच घण्टौं लफडा भएको थियो । तिव्र बिवाद र सार्वजनिक चासोको बिषय समेत भएको उक्त प्रकरणको अनुसन्धान महिना दिन पुग्नै लाग्दा समेत सकिएको छैन ।

उक्त बिवाद पछि नेपालगञ्ज भन्सारबाट व्यवसायीले त्यहाँका कर्मचारीसंगको मिलोमतो गरेर राजश्व चुहावट सहितका सामान भित्र्याउने गरेको तथ्य उजागर भएको थियो । उक्त तथ्य अरु कसैले नभई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राजश्व अनुसन्धान कोहलपुर कार्यालयको तथ्यांकलाई उद्धित गर्दै सार्वजनिक गरेका थिए । प्रहरी,प्रशासन र व्यवसायीको ‘इगो’को बिषय बनेको उक्त प्रकरणको अनुसन्धानमा ढिलाई भइरहेको हो ।

राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख लक्ष्मणविक्रम थापाले उक्त सामान सहितको ट्रक थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको जानकारी दिए । उनले उक्त बिषय अनुसन्धानकै प्रक्रियामा रहेको बताएका छन् । ‘थप अनुुन्धानको लागि विभाग पठाएका छौं ।’—उनले भने ।

यता उद्योगी,व्यवसायीहरुले चाँडै अनुसन्धान सकिने आशा गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले अनुसन्धान छिटो सकिनेमा आफुहरु आशावादी रहेको बताए ।


राजश्व चुहावको आशंका गरिएको उक्त विषयमा प्रहरी,प्रशासन र उद्योगी,व्यवसायीबीच भएको विवादले ठूलो रुप लिएको थियो । त्यही विवादलाई हेरेर अनुुन्धान प्रक्रिया समेत विभागसम्मै पुगेको हो । बिवाद बढ्दै गएपछि त्यस बिषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सार्वजनिकरुपमै राजश्व चुहावटका बिषयमा मुख खोलेका थिए ।

उनले यसको नतिजा सार्वजनिक गर्ने र कम्तिमा “राम्रो” लाई “राम्रो” भन्ने सोंचको बिकास गर्न उसैबेला आग्रह गरेका थिए । नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाइमा भएको न्यूरोडमा उतिबेला भएको धर्नामा भन्सार भएर आएको ट्रकमा कैफियत भए पुनः भन्सार लगेर छानबिन गर्नपर्ने माग व्यवसायीले गरेका थिए ।

तर आयातकर्ता व्यापारी र नेपालगन्ज भंसार कर्मचारीको मिलेमतोमा राजश्व चुहावट हुने गरेको तथ्य प्रमुख जिल्ला अधिकारीले नै सार्वजनिक गरिदिएका थिए । भंसारबाट प्रज्ञापन पत्रभरी राजश्व समेत तिरेर गन्तव्य तर्फ प्रस्थान भएका सवारी साधनहरु मध्ये २०८० श्रावण देखि हाल सम्म “राजस्व चुहावट भएको भरपर्दो सूचनाको आधारमा“ सशस्त्र प्रहरी बलले केही सामान गाडी सहित नियन्त्रण लिएरको थियो ।

पोखरेलले त्यसरी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कोहलपुरमा बुझाएको घटनाहरुको बिवरण र त्यसमा राजस्व अनुसन्धानबाट भएको छानबिन पछि पुष्टि भएको चुहावटको आधारमा निर्धारण भएको जरिवाना रकमको बिवरण सार्वजनिक गरेको छन् । भंसार तिरेको प्रमाण नभएको मालबस्तु जफत गरि भंसारमा बुझाईन्छ तर भन्सारमा राजस्व बुझाएको भए पनि मूल्य, परिमाण, बस्तुको प्रकृति हेराफेरी गरि राजस्व चुहावट भएको सूचना प्राप्त भएमा राजस्व अनुसंधान बुझाईने कानूनी अभ्यास भएको उनले स्मरण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसोका कारण बाँकेको जनजीवन प्रभावित

२७ पुष २०८०, शुक्रबार १४:४६
नेपालगञ्ज : बाँकेमा शित लहर र हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको हो । चिसो अत्याधिक बढेका कारण बिहान र बेलुकी सडकमा सवारीसाधन र मानिसको आवागमन निकै कम देखिएको छ । सरकारी कार्यालय सेवाग्राही र विद्यालयमा बालबालिकाको सङ्ख्या […]

सम्बन्धित