चिसोका कारण बाँकेको जनजीवन प्रभावित

सदरलाइन संवाददाता २७ पुष २०८०, शुक्रबार १७:०७
 

नेपालगञ्ज : बाँकेमा शित लहर र हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको हो ।

चिसो अत्याधिक बढेका कारण बिहान र बेलुकी सडकमा सवारीसाधन र मानिसको आवागमन निकै कम देखिएको छ । सरकारी कार्यालय सेवाग्राही र विद्यालयमा बालबालिकाको सङ्ख्या पनि घटेको छ ।

चिसो बढेका कारण नेपालगञ्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, वीपी चोक, बिरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा चहलपहल घटेको छ । शित लहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको नेपालगञ्जका नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताए । उनका अनुसार शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धाहरुलाई पनि यसले निकै प्रभाव पारेको छ ।

चिसो बढ्दै गएकोले जिल्ला विपद् व्यवस्थापन समिति र नेपाली सेनाले केही ठाउँमा सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएको छ । स्थानीय सरकारहरुसँग पनि आ–आफ्नो पालिकामा सो व्यवस्था गर्न आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।


शितलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण तीन दिनयता बिहान र बेलुका नेपालगञ्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । पहाडी जिल्लाहरु हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानहरुमध्य अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाई हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालका अनुसार पहाडी जिल्लाहरुसँगै संघिय राजधानी काठमाडौंका लागि पनि बिहान र बेलुका हुने हवाई उडान प्रभावित भएको बताए ।

जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझाका अनुसार गत चार दिनदेखि नेपालगञ्जको तापक्रम घट्दै गएको छ । बिहीबार र शुक्रबार तापक्रम झनै घटेर ७.७ देखि ९ डिग्रि पुगेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङ बस दुर्घटना : १२ जनाको कोहलपुरमा उपचार हुँदै

२७ पुष २०८०, शुक्रबार १७:०७
कोहलपुर (बाँके) : दाङको भालुबाङमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको कोहलपुरमा उपचार चलिरहेको छ । दाङको भालुबाङमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको कोहलपुरमा उपचार चलिरहेको छ । घाइते १३ जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएकोमा एक जना डिस्चार्ज भएका हुन् […]