मन्त्री धामीद्वारा नेपालगञ्ज नाका र भन्सार अनुगमन

सदरलाइन संवाददाता २० पुष २०८०, शुक्रबार १७:४३
 

नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगञ्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गरेका छन् ।

मन्त्री धामीसहितको उच्चस्तरीय टोलीले नेपालगञ्जस्थित जमुनाहा नाकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुका साथै नेपालगन्ज भन्सार कार्यालय पुगेर सो कार्यालयको गतिविधिबारे पनि जानकारी लिनुभएको छ ।

धनगढी र नेपालगञ्ज भारतीय नाकासँग जोडिएको सहर भएकाले यो नाकाबाट आउनेगरेका पर्यटकको अवस्था बुझ्नुका साथै यहाँको भन्सार राजस्व सङ्कलन तथा आयात निर्यातको अवस्था बुझ्न अनुगमन गरिएको मन्त्री धामीले बताए ।

उनले दुवै नाका करिब एकै प्रकारको रहेकाले दुवैको समानता र फरकका बारे पनि जानकारी पाउन र यहाँको राम्रो प्रयोगलाई धनगढीमा लागु गर्न यो अनुगमन लाभदायी हुने बताए ।


नेपालगञ्ज भन्सार कार्यालयका निमित्त नवराज पन्तले मन्त्री धामीलाई भन्सार कार्यालयको गतिविधिसँगै राजस्व सङ्कलनको अवस्थाबारे सो अवसरमा जानकारी गराए ।

मन्त्री धामीले निर्यात हुने वस्तु र निर्यातमा देखिएका समस्या बारेमा विशेषरुपमा चासो लिएर विभिन्न जिज्ञासा पनि राखे । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नाकामा कडाइ आवश्यक रहेको माग गर्दै जडीबुटीको निकासीमा भारत सरकारले लगाएका विभिन्न जटिल अवरोधहरू हटाउन सकिए निकासी धेरै बढ्न सक्ने बताए ।

जमुनाहा नाका र भन्सार कार्यालय अनुगमन टोलीमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहोरा, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाही र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामी र महासचिव भीम रानाभाटलगायत रहेका थिए ।

मन्त्री धामीले नेपालगञ्जका प्लाइउड उद्योगको पनि निरीक्षण गर्नुका साथै होटल व्यवसायी र अन्य पर्यटन व्यवसायीसँग पनि छलफल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीपाइले रोग निवारणका लागि बाँकेमा सर्भे गरिँदै

२० पुष २०८०, शुक्रबार १७:४३
नेपालगञ्ज : हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेमा कोहलपुर नगरपालिकाबाट सर्भेको काम शुरु भएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिए । गौतमका अनुसार […]