हात्तीपाइले रोग निवारणका लागि बाँकेमा सर्भे गरिँदै

सदरलाइन संवाददाता २० पुष २०८०, शुक्रबार १७:४७
 

नेपालगञ्ज : हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेमा कोहलपुर नगरपालिकाबाट सर्भेको काम शुरु भएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिए ।

गौतमका अनुसार पटक बाँकेलाई दुई कलष्टरमा बाँडेर चार ठाउँमा सर्भेको काम हुनेछ । नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई एउटा कलष्टर बनाइएको छ भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई अर्को कलष्टर बनाइएको छ ।

यसअघि नेपालगन्ज उपमहानगरपालिका ४ र कोहलपुर नगरपालिका ६ मा सर्भे गर्ने गरिएकोमा यो पटक भने राप्तीसोनारी गाउँपालिका ४ र नरैनापुर गाउँपालिका ४ मा पनि सर्भे गरिने फोकल पर्सन गौतमले बताए । सर्भेका क्रममा पास हुने कलष्टरका स्थानीयले औषधि सेवन गर्नु नपर्ने जनाइएको छ ।

एउटै वडामा एक सय ५० घरसङ्ख्याका आधारमा तीन सय जनाको रक्त नमुना सङ्कलन गरेर जाँच गरिने र बाँकेमा एक हजार दुई सय नमुना सङ्कलन गरेर जाँच गर्ने लक्ष्य लिएको फोकलपर्सन गौतमले बताए । उनका अनुसार २० वर्ष उमेर माथिका नागरिकको रक्त नमुना सङ्कलन गरिनेछ ।


कोहलपुर नगरपालिका ६ रझेनामा तीन सय जना स्थानीयको रक्त नमुना सङ्कलन गरिएको छ । ¥यापिट डाइगोनिष्टक टेस्टमार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरूको फेरि राती दश बजेदेखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गरिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अधिकृत कुमार पोख्रेलले बताए ।

यदि २ वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधि सेवन कार्य रोकिने छ । तर तीनभन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः दुई वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ । अघिल्लो पटक तीन सय जनामा रक्त नमुना परीक्षण गरिएकोमा रझेनामा ३५ जनामा पोजेटिभ देखिएको थियो ।

बाँकेमा विगत १३ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । ६ वर्षमै औषधि अभियान पूरा हुनुपर्ने भएपनि सबैले औषधि नखाइदिएका कारण यो अभियान बाँकेमा निरन्तर चलिरहेको छ । विगत दुई वर्षदेखि यो अभियानमा तीन वटा औषधि खुवाउने गरिएको छ ।

कीटजन्य रोग अनुसन्धान शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार इपिडिमियोलोजिकल मोनिटरिङ सर्भेले २० वर्षभन्दा माथिका मानिसहरूको शरीरमा रोग भए नभएको यकिन गर्नेछ । सर्वेक्षण गरिएको भौगोलिक क्षेत्रमा आम औषधि सेवन कार्यक्रमको प्रभावकारिता समेत थाहा हुने डा.दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्सका संस्थापकको जन्मोत्सवमा विभिन्न कार्यक्रम गरिँदै

२० पुष २०८०, शुक्रबार १७:४७
नेपालगञ्ज : लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनले लायन्सका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सव पारेर सप्ताहब्यापी सामाजिक सेवाका कार्यक्रमहरु सञ्चालन गर्दैछ । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बाँके र बर्दियामा पुस २२ गतेदेखि सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रम हुन लागेका […]