बाँकेमा हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

सदरलाइन संवाददाता १५ पुष २०८०, आईतवार १७:३४
 

नेपालगञ्ज : बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो अत्यधिक बढ्दै गएको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित हुँदै गएको छ भने अर्कोतिर यहाँबाट सङ्घीय राजधानी र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने हवाई उडानहरु प्रभावित भएका छन् ।

बाक्लो हुस्सु र कुहिरोका कारण मौसम बिग्रीएकाले गत शुक्रबारदेखि नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा र पश्चिम नेपालका पहाडी जिल्लामा हुने हवाई उडान प्रभावित भएका छन् । बिहानदेखि बाक्लो हुस्सु र कुहिरो लाग्दा यहाँबाट काठमाडौं, पोखरालगायत पश्चिम नेपालका पहाडी जिल्लामा हुने सबै हवाई उडान अनियमित र प्रभावित भएका हुन् ।


मौसमको खराबीले पहाडी जिल्लामा हुने बिहानका सबै उडान रद्द हुँदै आएको र काठमाडौंका लागि हुने उडान पाँच घण्टाभन्दा बढी ढिलो गरी हुने गरेको तथा केही उडान रद्द गर्नु परेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । सो कार्यालयका अनुसार अहिले दिउँसो साढे ११ बजेपछि मात्रै विमास्थल खुल्ने गरेको छ ।

उडान प्रभावित हुँदा विभिन्न ठाउँमा जानका लागि विमानस्थल पुग्ने गरेका सयौं यात्रु समस्यामा पर्न थालेका छन् । पहाडी जिल्लाका उडान दैनिकजसो रद्द हुँदा धेरै यात्रु सडक यातायातबाट यात्रा गर्न बाध्य भएका छन् । मौसमको खराबीले बिहान ९ बजे काठमाडौं जाने जहाज दिउँसो १२ बजेपछि मात्रै नेपालगञ्जबाट उड्ने गरेको बुद्ध एअरका नेपालगञ्ज प्रमुख विनित शाहले बताए । नेपालगञ्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझांग तथा काठमाडौं र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेख आठबिस समाज बाँकेद्वारा रक्तदान

१५ पुष २०८०, आईतवार १७:३४
नेपालगञ्ज :  चिसोको समयमा उपचारको लागि रगतको अभाव हुन नदिने उदेश्यले दैलेख आठबिस समाज,बाँकेको आयोजनामा रक्तदान कार्यक्रम आइतबार नेपालगञ्जमा सम्पन्न भएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । उनले यस्ता परोपकारी कार्यको निरन्तरताको कामना गर्दै दैलेख आठविस समाजलाई […]