सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा निर्माण गरिएको आधुनिक ल्याण्डफिल्ड साइड बिहीवारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ । एशियाली बिकास बैंकको सहयोगमा एकीकृत शहरी विकास कार्यक्रमअन्तर्गत करीव ३९ करोड रुपैयाँ लगानीमा साढे १३ बिघाह क्षेत्रफलमा निर्माण गरिएको ल्याण्डफिल्ड साइडको बिहीवार शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उद्घाटन गरेपछि औपचारिकरुपमा सञ्चालनमा आएको हो ।
ल्याण्डफिल्ड साईडको उद्घाटन गर्दै मन्त्री राईले ल्याण्डफिल्ड साईड देशकै पहिलो र नमुना भएको बताए । ल्याण्डफिल्ड सञ्चालनमा आएपछि नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि कुनै प्रकारको कठिनाई नहुने स्पष्ट पार्दै उनले बाँकेको समग्र विकासका लागि आफु निरन्तर सक्रिय भएको बताए । सबैको सहकार्य हुनसकेमात्र जिल्लाको विकास हुने कुरामा दुईमत नभएको भन्दै मन्त्री राईले विकासका लागि आफ्ना व्यक्तिगत ईगो त्यागेर अघि बढ्नुको विकाल्प नभएको कुरामा जोड दिए ।
नेपालगञ्जबाट संकलन भएको फोहोर ल्याण्डफिल साइडमा जम्मा गरी बर्गिकरण गर्ने, फोहोर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्यांकीसहित नगरका शौचालयबाट लगिएको फोहोर भण्डारण गर्ने ट्यांकीसमेत निर्माण गरिएको छ । आयोजनाले आवश्यक पर्ने १२ वटा ई–रिक्सा, फोहोर संकलनका लागि ११ हजार थान डस्टबिन, फोहोर संकलन गर्ने चारवटा गाडीसमेत साइडमा पुगिसकेको आयोजना प्रमुख सुवाश बस्नेतले जानकारी दिए ।
उनले ल्याण्डफिल्ड साइडको निर्माण पूरा भएकाले अब फोहोर संकलनका लागि उपमहानगरपालिकाले घर–घरमा डस्टबिन वितरण गरी सड्ने र नसड्ने फोहोर छुट्टयाई ल्याण्डफिल्ड साइडमा पुयाएर सड्नेलाई कम्पोस्टमल, पुनः प्रयोग हुनेलाई रिसाईक्लिन र नसड्ने, नगल्नेलाई व्यवस्थापन गर्ने गरी निर्माण भएको बताए । फोहोर बोक्ने चारवटा ट्रिपर र एउटा सक्शन ट्यांकर पनि ल्याण्डफिल्ड साइडमा व्यवस्था गरिएको छ ।
त्यहाँ ३५ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ भने हाल नेपालगञ्जमा दैनिक ८ टनसम्म फोहोर संकलन भईरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सांसदहरु आईपी खरेल, बिजय यादव, शहरी विकास मन्त्रालयका सचिव, एडिबिका प्रतिनिधि लक्ष्मी सुवेदीलगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।