सरकारकै कारण देशको अवस्था नाजुक बनेको छ : केपी ओली

सदरलाइन संवाददाता २० मंसिर २०८०, बुधबार १७:४०
 

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै कारण अहिले देशको अवस्था अत्यन्त नाजुक भएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा बुधबार रुकुम पुगेका एमाले अध्यक्ष ओलीले रुकुमकोटमा आयोजित जनतासँग सार्वजनिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई कसरी सकारात्मक बाटो तर्फ फर्काउने भन्ने कुरा नै अहिलेको चुनौती रहेको औल्याए ।

‘आज देशको राजनीति अन्योलग्रस्त छ, देशको राजनीति निराशायुक्त छ, देशको राजनीति अस्थिर र अराजक बनेको छ, देशको राजनीति प्रति जनविश्वास अत्यन्तै घटेको छ, त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठेरो, असहज र बिग्रिएको अवस्थामा छ र बिग्रँदै छ’, ओलीले भने ।

देशमा बढ्दो भ्रष्टाचार र अपराधीकरण प्रति ओलीले चिन्ता व्यक्त गर्दै अपराधीलाई समात्नै नमान्ने र समातिहाले पनि मुद्दा हाल्न नमान्ने, मुद्दा हालिहाले पनि फिर्ता लिने र सजाय मिनाहा गर्ने अपराध सरकारबाट गरिएकोमा चिन्ता ब्यक्त गर्दै यो राज्यको तर्फबाट लज्जास्पद र घिनलाग्दो कुरा भएको टिप्पणी गरे ।


सरकारको कारण लोकतान्त्रिक मूल्य मान्यता धरापमा परेको, राष्ट्रिय स्वाभिमान गिरेको र विकासको काम रोकिएको ओलीका आरोप छ । नेपाल सरकारले अहिले छिमेकीसँग ठाडो सिर गरेर कुरा समेत गर्न नसक्ने अवस्था रहेको टिप्पणी गर्दै त्यसलाई फेरी उठाउने गरी काम गर्नुपर्ने उनले प्रष्ट पार्दै भने–‘विकासको गतिलाई फेरी अगाडि बढाउनु छ, देशमा सुशासन कायम गर्नु छ ।’

एमाले अध्यक्ष ओलीले देश निर्माणको लागि देशमै बसेर केही गर्छु भन्ने भावना विकास गर्न नागरिकलाई पनि आग्रह गर्दै घर–खेत सबै बेचेर अमेरिका जान मरिहत्ते गर्ने होइन त्यही घर खेतलाई जमाएर सुनको टुक्रामा परिणत गर्नुपर्नेमा जोड दिउ । अहिले दुनियाँ ठुलो भएकोले उत्पादन गर्ने हो भने जुनसुकै चिजको पनि जताततै बजार भएको उनले प्रष्ट पारे ।

कार्यक्रममा नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू लगायतका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरू लगायतका नेताहरूका साथै जनसंगठनका नेताहरूको समेत सहभागिता रहेको अभियानमा प्रेस चौतारी नेपालको नेतृत्व गरिरहेका महासचिव हीरामान लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पपीडित बालबालिकालाई छात्रवृत्ति

२० मंसिर २०८०, बुधबार १७:४०
नेपालगञ्ज : जाजरकोट भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई बाँकेको एक निजी विद्यालयले माध्यमिक तहसम्म निःशुल्क पढाउने घोषणा गरेको छ । बाँकेको कोहलपुर नगरपालिकामा रहेको राम–जानकी माध्यमिक विद्यालयले भूकम्पपीडित बालबालिकाका लागि निःशुल्क छात्रवृत्ति व्यवस्था गरेको हो । जाजरकोट केन्द्रबिन्दु भएर एक महिनाअघि गएको भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने […]