नवदृष्टी महिला पुनःस्थापना केन्द्र व्यवहार रुपान्तरणको थलो

सदरलाइन संवाददाता १६ मंसिर २०८०, शनिबार १४:२६
 

नेपालगञ्ज : नेपालगञ्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षक समेत बनेका छन् ।

“अहिले बल्ल वास्तविक जीवनमा फर्केको महसुस हुन्छ”, एक पूर्व लागुऔषध प्रयोगकर्ता युवतीले भनिन् । पुनःस्थापना केन्द्रमा पहिलो, दोस्रो र अन्तिम उपचारमा संलग्न भएपछि वास्तविक जीवनलाई बुझेको उल्लेख गर्दै उनले लागुऔषधको सेवन गलत रहेछ भन्ने कुरा बुझेको अनुभव सुनाइन् ।
“मैले लागुऔषध प्रयोग गर्दा परिवारको माया लाग्दैनथ्यो, तर अहिले मेरो व्यवहार परिवर्तन भएपछि परिवारको र समाजको माया लाग्छ”, स्नातक तहमा अध्ययन गर्दै आउनुभएकी ती युवतीले भनिन् । करिब ११ महिनादेखि यस संस्थामा रहनुभएकी उनले लागुऔषध प्रयोग गर्दा खानाको वास्ता नभएको तर अहिले नशा छाडेपछि आफ्नो स्वास्थ्य अवस्था पनि राम्रो भएको बताइन् ।

“मैले लागुऔषध प्रयोग गर्दा केही पनि सोच्न सक्दैनथे तर अहिले मेरो मानसिक स्वास्थ्य पनि राम्रो भएको छ”, उनले भनिन् , “लागुऔषध प्रयोगकर्तासँग अहिले म आफैँले जानकारी लिएर ‘इनपुट र शेयरिङ गरिरहेकी छु । मलाई के लाग्छ भने शेयरिङ सबैभन्दा उत्कृष्ट औषधि हो ।”

पाँच वर्षदेखि सञ्चालनमा आएको नवदृष्टी पुनःस्थापना केन्द्रकी संस्थापक सिमरन राजभण्डारीले आफू पनि कुनै न कुनैरुपमा लागुऔषधमा फसेको र पछि व्यवहार परिवर्तन भएपछि यस क्षेत्रमै काम गर्नुपर्छ भन्ने सोचको विकास भइ महिला पुनःस्थापना केन्द्र सुरु गरिएको बताइन् ।

साथीहरुको लहलहैमा लागेर आफू पनि लामो समय लागुऔषधको दुव्र्यसनमा फसेको बताउँदै उनले आवासीय रुपमा पुनःस्थापना केन्द्रमा बस्नुभएका महिला तथा युवतीलाई व्यवहार परिवर्तनका विषयमा सिकाइने जानकारी दिइन् । लागुऔषध प्रयोगकर्ताको व्यवहार परिवर्तन गर्न प्रत्येक विहान नियमित अभ्यास, ध्यान, आदर तथा सत्कारलगायत व्यवहारका विषयमा सिकाइनुका साथै चिकित्सकमार्फत उपचार पनि गरिने राजभण्डारीले बताइन् ।


“उहाँहरुलाई महसुस हुने गरी परामर्श गरेर लागुऔषध प्रयोगकर्ता युवती तथा महिलाको व्यवहार परिवर्तन गर्न सकिन्छ”, उनले भनिन् । सो संस्थामा फिजिसियन चिकित्सक, मनोपरामर्शदातासहित सात जनाको जनशक्ति कार्यरत छ । पच्चीस जनाको क्षमता रहेको पुनःस्थापना केन्द्रमा अहिले विभिन्न जिल्लाबाट आएका १९ जना युवती तथा महिला हुनुहुन्छ ।

तीमध्ये सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समूहका लागुऔषध प्रयोगकर्ता हुनुहुुन्छ । पुनःस्थापना केन्द्रमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कपिलवस्तु र रुपन्देहीका लागुऔषध प्रयोगकर्ता युवती तथा महिला छन् । १५ देखि २५ वर्ष उमेर समूहका युवतीले ब्राउन सुगरको प्रयोग गरेको र २५ देखि ५५ वर्ष उमेर समूहका महिलाले धेरैजसो मदिरा सेवन गरेको पाइएको संस्थापक राजभण्डारीले बताइन् ।

उनले पुनःस्थापना केन्द्रमा अवासका लागि विभिन्न प्याकेज रहेको जानकारी दिँदै तीन महिनामा खासै परिवर्तन नभए पनि छदेखि नौ महिनामा व्यवहार परिवर्तन भएको पाइएको बताइन् । “कतिपय अभिभावकले यहाँ ल्याएर छोड्नुहुन्छ र सम्पर्कविहीन भइदिनुहुन्छ त्यसले हामीलाई कहिलेकाहीँ अप्ठयारो पार्छ”, उनले भनिन् , “उहाँहरुलाई संस्थामा भित्र्याएर चिकित्सकमार्फत उपचार सुरु हुन्छ र त्यो बेला उहाँहरुको शारीरिक अवस्था कमजोर हुन्छ, त्यसबेला उहाँहरुमा बेहोसजस्तो हुने र चिच्याउने, कराउनेलगायतका व्यवहार देखिन्छ ।”

पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक राशी रावलले युवती तथा महिलालाई अभिभावकले पुनःस्थापना केन्द्रमा राख्ने समय कम भएका कारण व्यवहार परिवर्तनमा समस्या आएको उल्लेख गरिन् । उनले मानसिक स्वास्थ्यको अवस्था राम्रो हुन कम्तीमा एक वर्षको समय लाग्ने भन्दै लागुऔषध प्रयोगकर्तालाई विगतका कुरा बिर्साउने विषयलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

नेपालगञ्जमा महिला पुनःस्थापना केन्द्र एउटा मात्रै छ । केन्द्रमा उपचार गरी पाँच वर्षमा करिब दुई सय महिला तथा युवती घर फर्किएका छन् भने ६० प्रतिशतको व्यवहार परिवर्तन भइ सामान्य जीवन बिताएको संस्थाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गैंडाको आक्रमणबाट बर्दियामा एकजना घाइते

१६ मंसिर २०८०, शनिबार १४:२६
बर्दिया : खरखडाई गर्न गएका बर्दिया मधुवन नगरपालिका—३ का ७० वर्षीय पुरुषलाई गैंडाले आक्रमण गर्दा घाइते भएका छन् । खाता जैविक मार्गको गौरी सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा सोही ठाउककका गहुनु चौधरी गम्भीर घाइते भएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए । गैंडाले चौधरीको शरीरको विभिन्न अंगमा प्रहार गरेको […]

सम्बन्धित