औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

सदरलाइन संवाददाता १६ मंसिर २०८०, शनिबार १३:५२
 

बैजनाथ (बाँके) : बाँकेको वैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहर विसर्जन गर्ने मेसिन) सञ्चालन नहुँदा औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या भएको छ ।

स्वास्थ्य केन्द्रमा औषधिजन्य फोहर विसर्जन गर्ने दुई थान अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नगरी थन्क्याएर फोहरलाई डम्पिङसाइटमा फाल्ने गरिएको छ । औषधिजन्य फोहर डम्पिङसाइटमा पठाउँदा जनस्वास्थ्यमा नकारात्मक असर पर्दै गएको वैजनाथ गाउँपालिकाका नागरिक अगुवा पुनितविक्रम शाहले बताए ।

“भएको मेसिन थन्क्याएर फोहर खुलेयाम डम्पिङसाइटमा पठाएर मानव स्वास्थ्यमा खेलबाड गर्ने काम भएको छ”, उनले भने, “मेसिन सञ्चालन गरेर औषधिजन्य फोहर निर्मूलीकरणमा गाउँपालिकाले चासो दिन जरुरी छ ।”


केन्द्रमा एक वर्ष अघि ग्रामीण गेरुवा जागरण संघले अटोक्लेभ मेसिन सहयोग गरेको थियो । एउटा हुँदाहुँदै लुम्बिनी प्रदेश सरकारले अर्को मेसिन केन्द्रलाई दिए पनि उपयोग हुन सकेको छैन । मेसिनबाट केही समय औषधिजन्य फोहर निर्मूलीकरण हुँदै आए पनि पाँच महिनायतादेखि फोहर डम्पिङसाइटमा पठाउने गरिएको हो ।

केन्द्रका निमित्त प्रमुख सिनियर अनमी दुर्गा भण्डारीले एउटा मेसिन बिग्रिएर थन्किएको र प्रदेश सरकारले दिएको नयाँ मेसिन सञ्चालनमा नआएको बताए । केन्द्रसँग बजेट नहुँदा भएका मेसिन सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो ।

वैजनाथ–५ का वडाध्यक्ष तथा केन्द्रका सञ्चालन समितिका अध्यक्ष देवबहादुर रावतले अस्पतालजन्य फोहर निर्मूलीकरण गर्ने दुई थान अटोेक्लेभ मेसिन थन्क्याएर फोहर ट्रयाक्टरलाई दिन बाध्य भएको बताए । गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले अटोक्लेभ मेसिन बिग्रिएर औषधिजन्य फोहर पनि डम्पिङसाइटमा पठाएको हुनसक्ने बताउँदै मेसिन सञ्चालनमा आवश्यक प्रक्रिया शुरु गर्ने जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवदृष्टी महिला पुनःस्थापना केन्द्र व्यवहार रुपान्तरणको थलो

१६ मंसिर २०८०, शनिबार १३:५२
नेपालगञ्ज : नेपालगञ्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षक समेत बनेका छन् । “अहिले बल्ल वास्तविक जीवनमा फर्केको महसुस हुन्छ”, एक पूर्व लागुऔषध प्रयोगकर्ता युवतीले […]