राप्तीसोनारीस्थित नदीमा पुल बनेपछि स्थानीय उत्साहित

सदरलाइन संवाददाता १४ मंसिर २०८०, बिहीबार १४:०६
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् ।

नदीमा पुल नहुँदा राप्ती सोनारी माथेबास र धामपुरका जनतालाई आवागमनमा वर्षौँदेखि सास्ती भोग्नुपरेकोमा पक्की पुल निर्माण भएर डेढ वर्षअघि नै सञ्चालनमा आएपछि सो क्षेत्रका जनतालाई ठुलो राहत भएको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले राप्ती नदीमा निर्माण गरिएको ५५४.४५ मिटर लम्बाइ रहेको सो पक्की पुलले नदीवारी र पारीका १० हजार बढी घरधुरीका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएको बताए ।

उनले त्यहाँ पुलको अभावले सो क्षेत्रका बासिन्दाले निकै टाढा अगैया पुगेर आवागमन गर्नुपरेकोमा पुल निर्माण भएर सवारी साधन सुचारु गरिएपछि सो क्षेत्रका सर्वसाधारणले राहात महशुस गरेको बताए । विभिन्न पुल र सडक निर्माणको ठेक्का पाएका अधिकांश निर्माण कम्पनीले समयमा काम पूरा नगरेर अलपत्र पारिरहेको बेला तुण्डी रसुवा कुमार श्रेष्ठ जेभीले निर्धारित समयमै सो पुलको निर्माण पूरा गरेको थियो ।


सो पुल तयार भएर डेढ वर्षअघि नै सुचारु गरिए पनि गत शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उदघाटन गरेका थिए । ७३ करोडको लागतमा सो पुलको निर्माण कार्य समयमै पुरा भएर स्थानीयले सवारी साधनका साथ आवागमन गर्न पाएपछि सो क्षेत्रका जनता उत्साहित बनेको स्थानीय विपतराम थारुले बताए ।

उनले पुल बनेर सुचारु भएपछि जतिबेला पनि कचनापुर, सम्शेरगन्ज ढकेरी कोहलपुरका मान्छे बिनौना बैजापुर आउनजान सक्नेभएको बताए । यस्तै, राप्तीसोनारी–२ का नरेश सार्कीले पुल बनेपछि यस क्षेत्रका नदीवारी र पारी दुवैतर्फका सर्वसाधारणले राहत पाएको बताए ।

२०७४ सालबाट निर्माण शुरु भएको सो पक्की पुलको ५ वर्षभित्र गत वर्ष नै कम्पनीले पुलको निर्माण कार्य सम्पन्न गरिसकेको थियो । निर्माण कम्पनीका अनुसार ११ वटा पिल्लर रहेको उक्त पक्की पुल साढे ७ मिटर चौडाइ पिच र पुलको दुवै साइडमा १ः७५ मिटरको पैदलयात्रुका लागि बाटोगरी ११ मिटर पुलको चौडाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा बस पल्टिँदा आठ घाइते

१४ मंसिर २०८०, बिहीबार १४:०६
बर्दिया : बुटवलबाट धनगढी गइरहेको लु ८५७१ नम्बरको यात्रुबाहक बस बिहीबार पल्टिँदा आठ जना घाइते भएका छन । पूर्व पश्चिम राजमार्गस्थित बर्दियाको ठाकुरबाबा नगरपालिका ४ सैनावारमा बस अनियन्त्रित भइ पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बस पल्टिँदा एक यात्रु गम्भीर भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । उनलाई […]