नेपालगन्ज यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशनको तयारीका क्रममा प्रचारप्रसारका लागि बाँकेका विभिन्न स्थानीय तहका गाउँमा समेत आयोजना बारे स्थानीयबासीलाई अवगत गराउन थालिएको छ ।
इत्तेहादले महाधिवेशनको प्रचार प्रचारलाई लिएर भैरहेका छलफल, अन्तरक्रियाका क्रममा विकास निर्माणदेखि मुस्लिम समुदायका चासोका विषयहरु राखिने गरेका छन् । ‘महाधिवेशनलाई मुस्लिम समुदाय सँग सम्बन्धित विषयहरु, विकास निर्माण लगायतका विषय उठान गर्ने अवसरका रुपमा प्रयोग गरिनुपर्छ’, प्रचारप्रसारका क्रममा आयोजित कार्यक्रममा सहभागीहरुको भनाई छ ।
बिहीबार बाँकेको खजुरा गाउँपालिकामा आयोजित महाधिवेशन तयारी बैठकमा मुस्लिम समुदायका अगुवाहरुले महाधिवेशनलाई सफल बनाउने प्रतिबद्धता जनाउँदै मुस्लिम विद्यार्थीका लागि छुट्टै विश्वविद्यालयका लागि पहल गर्नुपर्ने विषय उठेको थियो ।
नेकपा एमाले खजुरा गाउँपालिका वडा नं. ७ जैनुल खाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य समेत रहनुभएका मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुन हलवाईले इत्तेहादको महाधिवेशन बाँकेमा हुनु भनेको केन्द्रीय स्तरमा बाँकेबाट नेतृत्व स्थापित गर्ने अवसर पनि भएको बताए ।
उनले भने,–‘इत्तेहादको महाधिवेशन भएपनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यू समक्ष राख्ने र अवसर पनि हो ।’ उहाँले थप्नुभयो,–‘पार्टी अध्यक्ष आउने कार्यक्रम भएकाले नेकपा एमाले पनि इत्तेहादको महाधिवेशन तयारीमा जुटेको छ ।’ उनले महाधिवेशन उद्घाटनको अघिल्लो दिन बैशाख १९ गते नै प्रधानमन्त्री ओली नेपालगन्ज आइपुग्ने जानकारी दिए ।


‘१९ गते नै हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रबाट मागका बारेमा ज्ञापनपत्र बुझाउने र २० गते प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ ।’
मुस्लिम फाँट इन्चार्ज मो. हारुनले महाधिवेशन देशभर बाँके चिनाउने अवसर पनि भएको बताए । महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि सहित करिब ६ सय जनाले बाँकेको बारेमा बुझ्ने उनको भनाई थियो । इत्तेहादको महाधिवेशनका लागि ८१ वटै वडामा प्रचारप्रसार गरिने जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथि महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खानले महाधिवेशन बाँकेले आफ्नो एजेन्डा केन्द्रसम्म पुर्याउने अवसर भएको बताए ।
महाधिवेशन आयोजक समिति संयोजक अब्दु्ल करिम खानले हालसम्मको गतिविधिमा सबैतिरबाट सहयोग भैरहेको भन्दै महाधिवेशनमा त्यसैखालको सहभागिता रहने विश्वास व्यक्त गरे ।
त्यस्तै, नेकपा एमाले बाँकेका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपतिले इत्तेहादको महाधिवेशन सफल पार्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा एमाले नेतृत्वको स्थानीय तहदेखि केन्द्रसम्म हुँदा मुस्लिम क्षेत्रको विकासका लागि विभिन्न काम गरेको र हाल पनि गरिरहेको बताएका थिए ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य खलिल मियाँले मुस्लिम समुदायलाई इत्तेहादमा संगठित भई एकताबद्ध हुन आव्हान गरे । मौलाना मुस्लिम खान बरकातीले मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तह अनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठाउन सुझाव दिएका थिए ।