लुम्बिनी कपको उपाधिका लागि एपिएफ र पुलिसबीच प्रतिस्पर्धा हुने

सदरलाइन संवाददाता ११ बैशाख २०८२, बिहीबार १९:२७
 

नेपालगन्ज : नेपालगन्जमा जारी ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा दुई विभागिय टिमबीच प्रतिस्पर्धा हुदैछ । नेपालगन्ज रंगशालामा शुक्रबार(भोलि) अपरान्ह ४ बजे सुरु हुने फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा ८ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताका विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

फाइनलमा भिड्नु अघि दुबै टिमले उपाधि जित्ने दाबी गरे । आयोजक अन्तरालले बिहीबार गरेको पत्रकार भेटघाटमा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताए । पुलिसका प्रशिक्षक सुमन सुवेदीले फाइनल खेलमा आफुहरु एपिएफलाई गोल गर्नबाट रोक्ने रणनीतिका साथ खेल्ने बताए ।


एपिएफका प्रशिक्षक भगवती थापाले आफ्नो टिमलाई लुम्बिनी कप पनि जित्ने दवाव रहेको बताइन् । उनले भनिन्, ‘प्रोफेसनमा गएको टिमलाई दवाव त हुन्छ नै, तर जित्नैपर्छ भनेर खेलाडीलाई धेरै प्रेसर गरेर मात्रै हुदैन ।’ एपिएफका कप्तान अनिता बस्नेतले प्रतिद्धन्द्धीलाई कहिल्यै पनि कमजोर ठान्न नहुने बताइन् । पुलिस क्लव आफ्नो टिमका लागि नयाँ प्रतिद्धन्द्धी नभएको प्रशिक्षक थापाले बताइन् ।

पुलिसका कप्तान निरु थापाले खेलमा हारजित हुनु स्वभाविक कुरा भएको बताउँदै भनिन्, ‘खेलमा जे पनि हुन्छ, मैदानमा छिरेपछि खेलाडीले जित्न कै लागि खेल्ने हो ।’

प्रतियोगितामा पुलिस क्लवले भारतको सिलगुडी एफसीलाई हराएर सेमिफाइनल र त्रिभुवन आर्मी क्लवलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई हराएर सेमिफाइनल र रौतहट जिल्ला फुटबल संघलाई पराजित गर्दैै फाइनलमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न दर्शकको ओइरो लाग्ने आयोजकले अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशमा दीप प्रज्वलन

११ बैशाख २०८२, बिहीबार १९:२७
नेपालगन्ज : लोकतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र आयोजित उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, लुम्बिनी प्रदेशले संयोजन गरेको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउतले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र […]