आइतवारदेखि तेस्रो युवा सम्मेलन हुने

सदरलाइन संवाददाता १९ फाल्गुन २०८०, शनिबार १४:३९
 

नेपालगञ्ज : नेपाल युवा परिषद लुम्बिनी प्रदेशको तेस्रो युवा सम्मेलनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्नुहुने भएको छ । कार्यक्रम बारेमा शनिवार नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले सो कुराको जानकारी गराएको हो ।

नेपाल युवा परिषद लुम्बिनी प्रदेशको तेस्रो युवा सम्मेलनलाई आइतवार एक कार्यक्रमबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्नुहुने नेपाल युवा परिषद लुम्बिनीका संयोजक सोम गुरुङले जानकारी दिए । गुरुङका अनुसार फागुन २०, २१ र २२ गते तीन दिनसम्म बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टेमा सो सम्मेलन सञ्चालन हुनेछ ।

तीन दिनसम्म चल्ने युवा सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट ‘कोही पनि पछाडी नपरुन’ भनाइलाई सुनिश्चत गर्न दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक, सीमान्तकृत समूह अपाङ्गता, मुस्लिम, पिछडिएको वर्ग लगायत उत्पीडित र पिछडिएका क्षेत्रहरू र आर्थिक रूपमा विपन्न समुदायलाई थप समावेशी बनाउने उद्देश्यले करिब २ सय ५ जना युवाहरू सम्मेलनमा सहभागी हुने संयोजक गुरुङले जानकारी गराए ।

गुरुङका अनुसार प्रदेश युवा सम्मेलन २०२४ मा विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत, प्यानल छलफल, सफलताका कथाहरु, युवा साँस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना प्रस्तुत गरिनेछ ।

सहभागी हुन आउने सम्पूर्ण युवाहरुले आफ्नो कला संस्कृति झल्कने भेषभुषा, स्थानीय स्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बिउबिजनसमेत लिइ प्रदेश युवा सम्मेलनमा सहभागी हुनेछन् । जसले युवालाई कलासंस्कृतिको जगेर्ना गर्ने अभियानमा मद्दत पुग्ने र उनीहरुको सहभागिताले थप सहयोग पुग्नेछ ।


कार्यक्रमका सहआयोजक होमस्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरीले सम्मलेनले ‘दिगो विकास लक्ष्य’ का लागि युवा उद्यमशीलताको सिर्जना सम्भावना र रचनात्मकताको प्रवर्धन, प्रभावकारी शासनका लागि युवा सशक्तीकरण, जलवायु कार्यमा युवा संलग्नता, दिगो भविष्यका लागि पहल, वन्यजन्तु संरक्षणमा डिजिटल आविष्कार अन्वेषण, दिगो पर्यटन पहल प्रवर्धनमा युवा नेतृत्वलगायतका विषयगत क्षेत्र समेट्ने बताए ।

सम्मेलनमा जीवन्त युवा सांस्कृतिक साँझ, रैथाने एवं परम्परागत खाना परिकारको प्रदर्शनी, रैथाने खाद्यान्नको बिउबिजन प्रदर्शन, १० भन्दाबढी अन्तरक्रियात्मक सत्रहरू, प्रादेशिक कार्य योजना प्रस्तुति तथा जीन बैंक अवलोकन तथा अध्ययन गरिनेछ ।

सम्मेलनमा जेडएक्सेल, क्रेयसन नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल, होमस्टे महासंघ नेपाल, समृद्धिका लागि पर्यटन, कोकाकोला नेपाल, बास नेपाल, खल्ती, नेपाल पर्यटन वोर्डजस्ता दर्जनौं संघ संस्थाको एक्येबद्धता रहेको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमको अन्तिम दिन लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश (सिके) गुप्ताले सम्मेलनको समापन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा बैजनाथ गाउँपालिका अध्यक्ष, कोहलपुर नगरपालिकाका प्रमुख, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष, राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशी, रैथाने अभियान्ता तिलक ढकाल र नेपाल पर्यटन वोर्ड पूर्व कार्यकारी सदस्य कृष्णकुमार अर्याल लगायतको उपस्थिति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–गुलरिया सडकखण्ड पेडारीमा पुल बन्ने

१९ फाल्गुन २०८०, शनिबार १४:३९
नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माण हुने भएको छ । खजुरामा ६ वर्ष अघिदेखि चार लेन सडक निर्माण शुरु भए पनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदैआएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख […]