राप्तीसोनारीले ‘ग्रामीण आँखा केन्द्र’ सञ्चालन गर्ने

सदरलाइन संवाददाता १४ मंसिर २०८०, बिहीबार १३:११
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आउने भएको छ । राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सन्चालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा आँखा केन्द्र सञ्चालनमा आउन लागेको हो ।

आँखा केन्द्र स्थापनाको लागि नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान तथा स्थानीय तह बीच पाँच वर्षका लागि सम्झौता भएको हो । गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष तप्तबहादुर पौडेल र प्रतिष्ठानका तर्फबाट परियोजना व्यवस्थापक रवि गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

राप्तीसोनारी अस्पतालबाटै सेवा प्रवाह गर्ने गरी केन्द्र सन्चालनमा ल्याउन लागिएको पालिकाका अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले एक महिनाभित्रै आँखा उपचार सेवा दिने गरी पालिकाले प्रक्रिया अगाडि बढाइसकेको जानकारी पनि दिए ।

एक जना नेत्र सहायक र एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी केन्द्रमा हुनेछन् । त्यसका लागि विज्ञापन खोल्ने तयारी पालिकाले गरेको छ । पहिलो वर्ष प्रतिष्ठान र पालिकाले उनीहरुको तलवभत्ता ५०–५० प्रतिशत वेहोर्ने सहमति भएको छ । त्यसपछि भने पालिकाले क्रमशः बढाउँदै लैजाने र तीन वर्षपछि केन्द्रका सबै कर्मचारीको सम्पूर्ण तलव पालिकाले वेहोर्नु पर्नेछ ।


जनताको पहुँचमा पुग्न सक्ने गरी एकीकृत रुपमा आँखा स्वास्थ्य सेवा संचालन गर्ने उद्देश्यका साथ केन्द्र संचालनमा ल्याउन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । आँखा केन्द्र पालिकाको स्वास्थ्य शाखाको एकिकृत स्वास्थ्य सेवाको अंगको रुपमा रहने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । केन्द्र स्थापनाको लागि आवश्यक उपकरणहरु तिलगंगा आँखा प्रतिष्ठानले खरिद गरेर केन्द्रको नाममा हस्तान्तरण हुने गरी सम्झौता भएको पनि उनले बताए ।

सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतिविन्दुका विरामीहरुको लगत राखी तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरी शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्द्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राहयता दिइने, आँखा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु केन्द्रबाट सञ्चालन गरिने पनि केसीले बताए ।

केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, विरामीको आँखा सम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, सर्वसुलभ मुल्यमा औषधी तथा चश्माको बिक्री वितरण, आँखा रोग सम्बन्धी आकस्मिक सेवा प्रवाह हुनेछ । स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउनेगरी पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै आएको अध्यक्ष पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षले प्रतिवाद गर्ने

१४ मंसिर २०८०, बिहीबार १३:११
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघमा विवाद बढ्दै गएको छ । संघका अध्यक्ष टंकबहादुर धामी पक्षधरले एक्लौटी गर्न थालेको भन्दै असन्तुष्ट पक्षले त्यसको प्रतिवाद गरेको छ । अध्यक्ष धामीले आफूखुसी निर्णयहरु गर्दै गएको भन्दै पदाधिकारीसहितको असन्तुष्ट पक्षले बैठक नै बसेर त्यसको प्रतिवाद गर्ने निर्णय गरेको कोषाध्यक्ष मख्खनबहादुर धामीले बताए । […]

सम्बन्धित