ठेकेदार सम्पर्कबिहीन भएपछि ‘कम्पलेक्स’ निर्माण ठप्प

सदरलाइन संवाददाता १३ मंसिर २०८०, बुधबार १३:३८
 

नेपालगञ्ज : निर्माण कम्पनी सम्पर्क बिहीन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाको सुविधा सम्पन्न कम्पलेक्सको काम ठप्प छ । काम हुन नसकेपछि उपमहानगरले ठेक्का तोड्ने तयारी गरिरहेको छ । पूर्णचन्द्र आत्रय निर्माण सेवा (जेभि)ले कम्पलेक्स निर्माणको ठेक्का पाएको थियो ।

झण्डै ७० प्रतिशत काम सम्पन्न भइसकेपछि बाँकी काम ठप्प छ । नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर निभेष शर्माका अनुसार, ठेकेदार कम्पनी सम्पर्क बिहिन रहेका छन् । ‘लिखित र मौखिक तरिकाले उहाँहरुलाई सम्पर्कमा ल्याउने प्रक्रिया चालेका छौं । अब पनि ठेक्का तोड्ने वा के गर्ने भन्ने बिषयमा कुनै निष्कर्ष निस्किएला ।’— इन्जिनियर शर्माले भने ।

२०७८ फागुण महिनामा तत्कालिन नेपालगञ्जका नगरप्रमुख धवल शम्सेर राणाले शिलान्यास गरेका थिए । शिलान्यास पछि भवन निर्माणको काम शुरु भई महत्वपूर्ण संरचना तयार भए पनि एक वर्षदेखि काम अघि बढ्न सकेको छैन ।

नेपालगञ्जको पहिचानको रुपमा रहेको नगर भवन अत्याधुनिक पहिचान सहित निर्माण हुने भन्दै योजना अघि सारिएको थियो । तर झण्डै एक वर्षदेखि काम अघि बढ्न सकेको छैन । अण्डरग्राउण्ड सहितको संरचना तयार भएको छ । काम नभएपछि अण्डरग्राउण्डमा पानी भरिएको छ । भेरी अस्पताल रोड टाङ्गा स्टेशन नजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको हो ।


अण्डरग्राउण्ड पार्किङ्ग सुविधा भएको ब्यावसायिक कम्पलेक्स सहितको बहुउद्देश्यीय सभाहलको अवधारणा अनुसार काम अघि बढाइएको थियो । नगर भवनको शिलान्यास गर्दै तत्कालिन नगर प्रमुख राणाले यो भवन निर्माण सम्पन्न भएपछि नेपालगञ्जको विकासमा कोशेढुंगा सावित हुने दावी गरेका थिए ।

उक्त समयमा उनले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उपमहानगरपालिकाले १३ करोडको लागत स्टिमेटमा बेसमेन्ट सहितको ब्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भएपनि पहिलो चरणमा चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने योजना बनाएको थियो ।

शिलान्यास भएको आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरि आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । योजना अनुसार वेसमेन्टबाहेक तीन तल्ले भवन बन्नेछ । तेश्रो तल्लामा ५ सय क्षमताको बहुउद्देश्यीय सभाहल दोश्रो चरणमा निर्माण हुनेछ । अहिले पहिलो चरणमा वेसमेन्ट पार्किङ र ब्यावसायिक सटर निर्माण हुने भने पनि काम शुरु भएको छैन । पार्किङकमा १४ चारपांग्रे सवारी साधन र करिब २५ वटा मोटरसाईकल पार्किङ गर्न सकिनेछ । यसैगरी १९ वटा सटर निर्माण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुरुवागाउँ मेलामा भेडा जुधाईले मनोरञ्जन दिँदै

१३ मंसिर २०८०, बुधबार १३:३८
नेपालगञ्ज : बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ । नागा बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष जगतराम कुर्मीका अनुसार परापूर्वकालदेखि चलेको भेडा जुधाउने परम्परालाई अहिलेका पुस्ताले पनि निरन्तरता दिइरहेको छ । यसै संरक्षण […]